फोहोर व्यवस्थापनमा अवरोध

पोखरा महानगर विरुद्धको मुद्दामा उच्च अदालत पोखराको कारण देखाउ आदेश

केन्द्रभाग मिडिया

पोखरा ।

बस्ति नजिक फोहोर फालेको भन्दै पोखरा महानगरविरुद्ध परेको रिटमा उच्च अदालत पोखराले पोखरा महानगरपालिकालाई कारण देखाउ आदेश दिएको छ। उच्च अदालतका न्यायाधीश रमेश प्रसाद राजभण्डारीको एकल इजलासले शुक्रबार महानगरको नाममा कारण देखाउ आदेश दिएको हो। रिट निवेदकको माग अनुसार अन्तरिम आदेश किन दिन नपर्ने हो,  त्यसको कारण पेश गर्न अदालतले आदेश दिएको हो।

अन्तराष्ट्रिय विमानस्थल संचानका लागि चालु अवस्थाको ल्याण्डफिल साइड बन्द गरेर पोखरा महानगरपालिकाले पोखरा ३२ गगनगौडामा फोहोर फाल्न सुरु गरेको थियो । त्यस क्षेत्रका स्थानीय रबिन केसी लगायत तीन जनाले बिहिबार ( साउन ११ गते) उच्च अदलतमा रिट दायर गरेका थिए।

बुधबार दर्ता भएको रिटमा आज सुनुवाइ गर्दै उच्च अदालतले कारण देखाउ आदेश दिएको हो। यससँगै रिट निवेदकको माग बमोजिम अन्तरिम आदेश दिने वा नदिने भन्ने निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि साउन २१ गते अदालतले बोलाएको छ।

पोखरा ३२ को राधाकृष्ण मन्दिर पछाडी र सेती नदीको बिचमा महानगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आईरहेकोमा तीन दिन देखी फोहोर उठेको छैन ।  पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका क्रममा नजिकैं बाच्छेबुढुवामा भएको ल्याण्डफिल्ड साईटमा फोहोर व्यवस्थापन गर्न नमिलेपछि वडा नं. ३२ का स्थानीयले अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्न सहमति दिएका थिए ।

महानगरपालिका र वडावासी बिच दैनिक रुपमा त्यहाँ लगिने फोहोरलाई वातावरण प्रदुषण नहुने गरी व्यवस्थापन गर्ने सहमती भएको थियो । महानगरले फोहोर फाल्ने तर स्थानीयका सरोकारलाई व्यवस्ता गरेको स्थानीयको आरोप छ ।

फोहोर लगेर जथाभावी फाल्दिने, फोहोरलाई माटोले नपुर्ने गरिएपछि वरपरको वातावरण र पर्यावरणमा समेत यसले असर पारेको स्थानीयले गुनासो गरेका छन् । स्थानीयले यस पहिले संझौता कार्यान्वयन गर्न महानगरको ध्यानकर्षण समेत गराएका थिए ।

पुस १५ गते देखी पोखरा ३२ मा फोहोर व्यवस्थापन गर्न थालिएको थियो । ६ महिनाका लागि फोहोर फाल्ने सहमती भएको थियो, उक्त अवधि सकिएकाले अब फोहोर फाल्न नदिने रिट निवेदन रबिन केसीले बताए ।

 

  • १२ श्रावण २०८०, शुक्रबार १९:११ प्रकाशित