पोखरा ।
जिल्ला समन्वय समिति कास्कीले आर्थिक बर्ष २०७९/८० मा सम्पादन भएका कामहरूको बिबरण सहित आर्थिक बर्ष २०८०/८१ का लागि नयाँ कार्ययोजना सार्बजनिक गरेको छ। समितिले शुक्रवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर उक्त विवरण सार्बजनिक गरेको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले आफुहरू निर्बाचित भएर कार्यभार सम्हाले पछि बर्तमान प्रदेश तथा संघ सरकारले हालसम्म निर्माण गरेका कानून र ऎन नियम भित्र रहेर उत्कृष्ट समन्वयकारी भुमिका निर्बाह गर्ने प्रयत्न रहेको उल्लेख गरे । समन्वय र अनुगमनका लागि पर्याप्त कानुन अभाव भएको र उक्त कानुनहरू निर्माण गर्न आफूहरू निरन्तर प्रदेश र संघ सरकारलाई विभिन्न तवरले लबिङ् गरिरहेको भन्दै संबैधानिक ब्यबस्था अनुसार तीन तहका सरकार बिच बिकास र अन्य जन चासोका बिषयमा समेत समन्वय गरिरहेको उल्लेख गरे ।
उनले निर्बाचित भएको एक बर्षमा चौध वटा बैठक बसेको,नेपालमा नै पहिलोपटक विभिन्न बिषयगत कार्यालयको अर्ध बार्षिक समिक्षा गरिएको ,जि. स. स. कास्की सहित स्थानीय तहका पदाधिकारी र सबै वडा अध्यक्षहरूलाइ क्षमता अभिबृद्दि तालिम संचालन गरिएको, मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयन गरेको ,गैरसरकारी संस्थाहरूको नियमनका लागि अनुगमन सहित समन्वयात्मक बैठक सम्पन्न गरेको उल्लेख गरे ।
त्यसैगरि अनुभव आदानप्रदान गर्न असल सिकाइ अभ्यास कार्यक्रम ,नदि तथा खानिजन्य पदार्थ उत्खनन बिक्री बितरण र क्रशर संचालन कार्यबिधी र समन्वय कार्यबिधी निर्माण गरि छैटौं जिल्ला सभाबाट पारित भएर कार्यान्वयनको चरणमा प्रवेश गरेको जानकारी दिए ।
पहिलो पटक स्थानिय तह स्वमुल्यांकन (LIZA) र बित्तिय सुशासन जोखिम मुल्यांकन ( FRA) को नतिजा औपचारिक कार्यक्रम मार्फत सार्वजनिक गरिएको जानकारी दिए। प्रमुख पौडेलले जिल्ला सभाबाट पारित ३२ बुदे निर्णय कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै कास्कीमा संघीय ,प्रादेशिक र स्थानिय तहका बिकास आयोजनाको अनुगमनका क्रममा देखिएका समस्याको समन्वय र समाधानमा नियमित भएका कार्यहरूको जानकारी दिए। पौडेलले अनुगमन ,समन्वयको कार्यलाई प्रभाबकारी बनाउन आर्थिक बर्ष २०८०र/८१ को ब्यबस्थित कार्यतालिका निर्माण गरेको जानकारी दिए ।













