काठमाडौँ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैङ्कका गभर्नरस्तरीय बैठक नेपालका लागि उपलब्धिमूलक रहेको बताएका छन् ।
भारतको गुजरातमा सम्पन्न उक्त बैठक सम्पन्न गरि बुधबार स्वदेश फर्कनुभएका अर्थमन्त्री महतले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मुलुकको दिगो विकासमा अन्तर्राष्ट्रिय सहयोगको दायरा बढाउने, मूल्यवृद्धिबाट जनमानसमा परेका समस्या र असरबाट मुक्त गर्ने तथा जलवायु लगायतका तमाम विषयमा नेपालका तर्फबाट धारणा राख्ने अवसर प्राप्त भएको बताएका हुन् ।
उनले जी–२० मुलुकले पनि संसारभरि नै आर्थिक वृद्धिदर कम भइरहेको अवस्थामा आर्थिक सीमा बढाउने लगायतका विषयमा पनि गम्भीर छलफल भएको जानकारी दिए । उनले बैठकका साथै भारत र चीनका अर्थमन्त्रीसँग पनि छलफल भएको र दुईपक्षीय सम्बन्ध तथा अन्य महत्त्वपूर्ण विषयमा छलफल भएको बताएका छन् ।
अर्थमन्त्री महतले भारतको गुजरात चेम्बर अफ कमर्सको कार्यक्रममा पनि भारतीय व्यवसायीहरूलाई लगानी गर्नका लागि आह्वान गरिएको पनि जानकारी दिए ।
नेपाल जी–२० मुलुकको सदस्य नरहेपनि अतिथि सदस्यका रूपमा अर्थमन्त्री महतले बैठकमा सहभागिता जनाएका थिए ।