गोल्डेन ढाकाटोपीको सेमिफाइनलमा २४ समूह छानिए

केन्द्रभाग मिडिया

 पोखरा ।

मिरर किङ इन्टरटेन्मेन्ट प्रालि र बिटुडी डान्स स्कुलले संयुक्त रुपमा आयोजना गरेको तेस्रो संस्करणको गोल्डेन ढाकाटोपी कल्चरल ग्रुप डान्स कम्पिटिसनको सेमिफाइनलमा २४ समूह छनोट भएका छन् ।

ढाकाटोपी कम्पिटिसानको जेठ २० देखि २७ गतेसम्म समूह चरणको अडिसन भएको थियो । उक्त चरणमा गण्डकी प्रदेशका ५३ वटा स्कुल सहभागी भएका थिए । समूह चरणबाट सेमिफाइनलमा २४ समूहले स्थान पक्का गरेको प्रतियोगिताका निर्देशक अमन तामाङले जानकारी दिए ।

‘सुरुमा सहभागी हुने स्कुलले भिडियो पठाएर अडिसनमा भाग लिएका थिए । त्यही भिडियोका आधारमा हामीले सेमिफाइनलमा छनोट गरेका हौं,’ तामाङले भने, ‘सेमिफाइनल साउनको १३ गते हुनेछ ।’
प्रतिस्पर्धामा छनोट भएका स्कुल गण्डकी प्रज्ञा प्रतिष्ठानको सभा हलमा अन्तिम चरणका लागि प्रतिस्पर्धा गर्न आउनेछन् ।

प्रतियोगिताको फाइनल भदौ २ गते हुने आयोजकले जानकारी दिएको छ ।प्रतियोगितामा पहिलो हुने स्कुलले गोल्डेन ढाका टोपीसहित १ लाख रुपैयाँ, दोस्रो हुनेले ट्रफीसहित ७५ हजार रुपैयाँ, तेस्रोले ट्रफीसहित ५० हजार रुपैयाँ, चौथो हुने स्कुलले ट्रफीसहित ३० हजार रुपैयाँ र पाँचौं हुने स्कुलले ट्रफीसहित २० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । ‘उत्कृष्ट नृत्य निर्देशकलाई गोल्डेन ट्रफीसहित १५ हजार रुपैयाँको पनि व्यवस्था गरिएको छ,’ तामाङले भने ।

प्रतियोगितालाई गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, सांस्कृतिक संस्थान, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान तथा अन्य निजी संघसंस्थाले सहयोग गरेका छन् । प्रतियोगिताका सम्पूर्ण भाग पब्लिक फोरके टेलिभिजनबाट प्रसारण हुनेछ ।

  • ३ श्रावण २०८०, बुधबार १६:०४ प्रकाशित