नेपालको पासपोर्ट कमजोर, सिंगापुरको पासपोर्ट बन्यो विश्वकै शक्तिशाली

केन्द्रभाग मिडिया

dav

काठमाडौँ । विश्वका शक्तिशाली पासपोर्टहरूको सूचीमा नेपाल १०३ देशमध्ये ९८ औं स्थानमा परेको छ ।

सबैभन्दा बढी मुलुकमा पाउने अन एराइभल भिसालाई आधार बनाएर ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले गरेको सर्वेक्षणमा विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाली पासपोर्ट अन्तिमबाट आठौं स्थानमा परेको हो ।

सन् २०२३ का लागि सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली घोषित भएको छ । लगातार तीन वर्ष शीर्ष स्थानमा रहेको जापानलाई उछिन्दै सिंगापुरको पासपोर्ट हेनले पासपोर्ट इन्डेक्सको शीर्ष स्थान ओगट्न सफल भएको हो ।

कुनै पनि देशका नागरिकले प्राप्त गर्ने भिसा बिना र आवश्यकताका आधारमा भिसा प्राप्त सक्ने क्षमताका आधारमा विश्वमा यात्रा गर्न पाउने स्वतन्त्रताको मापन गरी यो सूची तयार गरिन्छ । सिंगापुरका नागरिकले विश्वका २२७ स्थानमध्ये १९२ गन्तव्यमा बिना भिसा यात्रा गर्न पाउने छन् ।

दोस्रो स्थानमा १९० गन्तव्यमा बिना भिसा यात्रा गर्न पाउने जर्मनी, इटाली र स्पेन संयुक्त रूपमा रहेका छन् । तेस्रो स्थानमा अस्ट्रिया, फिनल्याण्ड, फ्रान्स, जापान, लक्जम्बर्ग, दक्षिण कोरिया र स्वीडेन रहेका छन् । अमेरिका आठौँ स्थानमा छ भने चीन ६३ औँ स्थानमा रहेको छ ।

नेपालले ३८ वटा देशमा मात्र बिना भिसा वा मागअनुसार सजिलै भिसा प्राप्त गर्न सक्छन् । नेपालभन्दा तल पाकिस्तान १ सयौँ र अफगानिस्तान पुछारमा १०३ औँ स्थानमा छ ।

  • ३ श्रावण २०८०, बुधबार १५:०१ प्रकाशित