एसिया कप

नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित, समूह चरणबाटै बाहिरियाे

नेपालले अन्तिम खेलमा पर्सि बुधवार यूएई 'ए' सँग खेल्नेछ ।

केन्द्रभाग मिडिया

तस्विर : रासस

एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित भएकाे छ ।

नेपालले दिएकाे १ सय ६८ रनकाे सामान्य लक्ष्य भारत ‘ए’ ले २२ ओभर १ बलमा १ विकेट गुमाएर भेटायाे । भारतका अभिषेक शर्माले ८७, साई सुदर्शनले नटआउट ५८ रन बनाए । बलिङतर्फ नेपालका कप्तान राेहित पाैडेलले १ विकेट लिए ।

श्रीलङ्काको आर प्रेमदासा रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपाल ३९ ओभर २ बलमा १ सय ६७ रनमा अलआउट भयाे । नेपालका लागि कप्तान राेहित पाैडेलले अर्धशतक बनाए । राेहित ८५ बलमा ६५ रन बनाएर आउट भए । यस्तै गुलसन झाले ३८ रन बनाए । नेपालका अन्य ब्याटरले राम्राे प्रदर्शन गर्न सकेनन् । कुशल भुर्तेल शून्य, आसिफ शेख ७, देव खनाल १५, भीम सार्की ४ र कुशल मल्ल शून्य, साेमपाल कामी १४, पवन सर्राफ ६ र ललित राजवंशी ३ रनमा आउट भए । यस्तै किशाेर महताे २ रनमा नटआउट रहे ।

नेपालले १० ओभरमा ३७ रन बनाउँदा ५ विकेट गुमाएकाे अवस्थामा राेहित र साेमपालले पारी सम्हालेका थिए । त्यसपछि छैटाैँ विकेटका लागि राेहित र साेमपाल कामीले ५३ रनकाे साझेदारी गरेका थिए ।

बलिङतर्फ भारत ‘ए’ का निशान्त सिन्धुले ४, आरएस हङ्गरगेकरले ३ र हर्षित रानाले २ विकेट लिए ।

याे हारसँगै नेपाल एक खेलअघि नै समूह चरणबाट बाहिरिएकाे छ । समूह ‘बी’ मा रहेकाे नेपाल पहिलाे खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएकाे थियाे । अब नेपालले अन्तिम खेलमा पर्सि बुधवार यूएई ‘ए’ सँग खेल्नेछ । यूएई पनि समूह चरणबाटै बाहिरिइसकेकाे छ । याे समूहबाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् ।

समूह ‘ए’ मा ओमान, अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्काकाे ‘ए’ टाेली रहेका छन् । याे समूहबाट ओमान बाहिरिइसके पनि सेमिफाइनलमा पुग्ने टाेलीकाे टुङ्गाे लागिसकेकाे छैन । प्रतियोगितामा नेपालबाहेक सबै टिमले ‘ए’ टोली पठाएका छन् ।

प्रतियोगिताको फाइनल खेल साउन ७ गते आइतवार हुनेछ ।

  • १ श्रावण २०८०, सोमबार २१:४३ प्रकाशित