पोखरा ।
आज साउनको पहिलो सोमबार । देशभरका शिवालयमा भक्तजनहरूको भीड लागेको छ।आज बिहानैदेखि देशभरका शिव मन्दिरमा भक्तालु जनहरुको पूजा, अर्चनाका लागि भीड लागेको हो।
काठमाडौंको पशुपतिनाथको मन्दिरमा पनि भक्तजनहरूको उल्लेख्य भीड रहेको बताइएको छ । यता पोखराको विन्दवासिनी, नारायणस्थान,केदारेश्वर, गुप्तेश्वर लगायतका मन्दिरहरुमा पनि बिहानै देखि भक्तजनको घुँइचो लागेको छ ।
साउन महिना विशेष गरेर आशुतोष भगवान ९महादेव० को प्रिय महिना भएकोले साउनको सोमबार विशेष पूजा आराधना गर्ने गरिन्छ ।
सोमबारका दिन पूजा आराधना र अर्चना गर्नाले मनोबाञ्छित कामना सिद्ध हुने विश्वास रही आएको छ।यस्तै पोखरामा बोलबम पदयात्रा पनि हुने भएको छ ।विगत २२ वर्षदेखि हुदैँ आएको बोलबम पदयात्रा यसपाली पनि हुने भएको हो । बोलबमको ध्वनिले, शान्ति पाऊन् साराले’ भन्ने मूलमन्त्रका साथ हरेक साउन महिनाको हरेक सोमबार बोलबम पदयात्रा हुनेछ ।
साउन महिनाको प्रत्येक सोमबार बगरको गाइघाटस्थित १०८ धारामा स्नान गरेर आठ किलोमिटर पैदलयात्रा सहित केदारेश्वर मणि बोलबम धाममा जलार्पण गरिने पदयात्राका संयोजक शंकर खरालले जानकारी दिए । यो वर्षको श्रावण महिनामा ५ वटा सोमबार परेकाले थप भव्य र भक्तजनको पनि बढि सहभागी हुने अपेक्षा गरिएको छ ।
पार्वतीले साउन महिनाभर निराहार रही कठोर व्रत बसेर भगवान् शिवलाई प्राप्त गरेको शास्त्रमा वर्णित भएकोले महिलाहरूले यसलाई बढी महत्व दिन्छन्।
महिनाको अरू दिन नसके पनि सोमवार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुशी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ।साउने सोमबारका दिन भगवान शिवको विशेष पूजा आराधना गर्ने परम्परा छ।साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ।














