पर्वत ।
पर्वतमा जिप दुर्घटना हुदाँ एक बालिकाको ज्यान गएको छ । भने ११ जना घाइते भएका छन् । कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा शनिबार राति जिप दुर्घटना भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतको अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग१ज ५२२९ नंको जिप दुर्घटनामा परेको हो। दुर्घटनामा परी गम्भीर घाइते भएकी कुश्मा–३ की सात वर्षीया बालिका शीतल विकको उपचारका क्रममा निधन ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेले जानकारी दिए । टाउको र आँखामा गम्भीर चोट लागेकी बालिकाको उपचारकै क्रममा पर्वत अस्पतालमा ज्यान गएको हो ।
सोही स्थानका चार वर्षीय प्रिन्स क्षेत्री र ५० वर्षीया चन्द्रकला क्षेत्रीलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा ल्याइएको छ । प्रहरीका अनुसार उनीहरू दुर्घटनामा परी दुर्लुङकै तीन वर्षीय सौरभ विक, २३ वर्षीया शान्ति विक, ७० वर्षीय कृष्णप्रसाद पाध्या, १६ वर्षीय निशान परियार, ५५ वर्षीया हीरादेवी मगर, ३५ वर्षीय मीनबहादुर क्षेत्री, ४७ वर्षीय अमृत शर्मा, ७६ वर्षीय भजत शर्मा, पोखरा बस्ने १६ वर्षीय अमर विक घाइते भएका छन् ।
उकालो बाटोमा चढ्दै गरेको जिप अचानक अनियन्त्रित भई सडकबाट करिब ३०–३५ मिटर तल खसेको थियो । जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।














