अध्यागमनविरुद्ध आन्दोलन गर्ने रोजगार संघको चेतावनी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

वैदेशिक रोजगार व्यवसायी संघले अध्यागमन कार्यालयले पछिल्लो समय वैदेशिक रोजगारमा हिडेका श्रमिकलाई अनावश्यक रुपमा दुख दिने काम गरेको भन्दै अध्यागमन विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई अध्यागमन कार्यालयले पछिल्लो समय कागजपत्र शंकास्पद रहेको भन्दै फिर्ता पठाउन थालेको छ । सोप्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको छ ।

कुवेत र जोर्डन जाने लागेका १३२ जना श्रमिकहरूलाई अध्यागमन कार्यालयले विना कारण रोकेको भन्दै संघले आपत्ति जनाएको हो ।शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघका अध्यक्ष राजेन्द्र भण्डारीले विना कारण कामदार फर्काउने काम भएको बताए ।

वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिई वैदेशिक रोजगार व्यवसायीले वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्वीकृति लिई रोजगारीमा जाने गरेका छन्ु, उनले बताए । सबै प्रक्रिया पूरा गरेर जान लागेका कामदारहरूलाई समेत रोकेको उनले बताए।

विभागबाट संस्थागत रुपमा प्रचालित कानुन बमोजिम श्रम स्वीकृति लिई वैदेशिक रोजगारीका लागि जाने कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयका कर्मचारीले केहि दिनदेखि कानुन विपरीत रोक्ने काम भइरहेको उनले बताए।

अनावश्यक दुःख दिई रोजगारीबाट वञ्चित गराउने उद्देश्यबाट प्रेरित भई हस्तक्षेप युक्त कार्य भइरहेको उनले बताए।

अध्यागमन कार्यालयले २०८० असार २४ गते जोर्डन जान लागेका १५ जना, २७ गते सलाम एयरलाईन्सबाट कुबेत जान लागेका १०१ जना र कुबेत एयरलाईन्सबाट जान लागेका १६ जना कामदारलाई रोकेको थियो।

अध्यागमन कार्यालयबाट कानूनभन्दा बाहेक नै अनावश्यक दोषारोपण सहित जान नदिई फर्काएको उनको भनाइ छ ।

  • २९ असार २०८०, शुक्रबार १६:१५ प्रकाशित