बैतडी ।
बैतडीको पुर्चौडी नगरपालिका– ६ मुडेलीधारमा आफ्नै बाजेको कुटाईबाट नातीको ज्यान गएको छ । बाजेको कुटाईबाट गम्भीर घाइते भएका दुई नातीहरूमध्ये २ वर्षीय नाति रेसम साउदको डडेलधुरा अस्पतालमा उपचारका क्रममा गएराती ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
इन्स्पेक्टर लोकराज जोशीको अनुसार अर्का घाइते नाती रिजन साउदको डडेलधुरामा उपचार हुन नसकेपछि हिजो रातीनै धनगढी रेफर गरिएको छ । बिहीबार बाजेको कुटपिटबाट स्थानीय दीपक साउदका २ वर्षीय छोरा रेसम साउद र ८ वर्षीय छोरा रिजन साउद गम्भीर घाइते भएका थिए ।
हेरचाह गर्न ५० वर्षीय गणेश साउदसँग छोडेर आमा र बजै घाँस काट्न गएको बेलामा साउदले नातिहरूलाई निर्घात कुटपिट गरेका थिए । आरोपित साउदको मानसिक अवस्था ठिक नभएको बुझिएको छ ।
कुटपिट गर्ने बाजे गणेश साउदलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय, पाटनमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














