काठमाडौं ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाटै फर्काएको छ ।
भिसा शंकास्पद रहेको भन्दै अध्यागमन कार्यालयले बुधबार साँझ सलाम एयरमार्फत कुवेत जान लागेका १०१ जना र बिहीबार बिहान कुवेत एयरमार्फत कुवेतमा जान लगेका १६ जना श्रमिकलाई विमानस्थलबाट फर्काएको हो ।
विभिन्न म्यानपावर कम्पनीमार्फत विभिन्न कम्पनीहरुमा काम गर्न भन्दै वैदेशिक रोजगार विभागबाट उनीहरूले श्रम स्वीकृति पनि लिइसकेका थिए । तर, अध्यागमनले सोधपुछका क्रममा विदेशमा घरेलु श्रमिकका रुपमा लैजान लागेको देखिएको भन्दै फर्काइदिएको हो । फर्काइएकामध्ये करिब आधा महिला पनि छन् ।
अध्यागमन विभागमा महानिर्देशक झलकराम अधिकारीका अनुसार श्रमिकको पासपोर्टमा एउटा खालको भिसा र ब्यागेजमा अर्को भिसाको कागजात रहेको पुष्टि भएपछि उनीहरुलाई फर्काइएको हो ।
उनका अनुसार पछिल्ला केही दिनमा कुवेतमा यस्तो भिसामा जानेहरुको संख्या बढेपछि जानेहरुसँग सोधपुछ बढाइएको थियो ।













