कपिलवस्तु ।
विषालु सर्पले डस्दा दुई दाजुभाइसहित ४ जनाको ज्यान गएको छ ।
बुद्धभूमि नगरपालिका १, कपासीका दाजुभाइ ९ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दिपक भुसालको ज्यान गएको प्रहरीले जनाएको छ । हजुरआमासँग भुइँमा सुतेका उनीहरुलाई सोमबार राति सर्पले डसेको थियो । बिहान दाजुभाइ अचेत अवस्थामा भेटिएका थिए ।
परिवारले उपचारका लागि बुटवल लैजाँदा एक जनाको बाटोमै र अर्काको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार हुँदाहुँदै ज्यान गएको बताइएको छ ।
त्यस्तै, महाराजगन्ज नगरपालिकाकी ३१ वर्षीया अनिता यादवलाई गोमन सर्पले डस्दा उनको ज्यान गएको छ । बुद्धभूमि नगरपालिका–१० हरदासडिहवाकी १४ वर्षीया ममता चमारको पनि विषालु सर्पले डस्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।














