भारतले धौलीगङ्गाको बाँध खोल्दा धार्चुलामा घर बगायो

केन्द्रभाग मिडिया

दार्चुला ।

भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका खोलेको छ । आज (मंगलबार) बिहान ५ बजे भारतले बाँध खोलेको हो । बाँधका ढोका खोलेपछि महाकाली नदीमा पानीको सतह बढेको छ ।

नदीमा पानीको सतह बढेपछि पारि (भारततीर)धार्चुलामा केही क्षति भएको छ । एक दुईओटा घर भत्किएको बताइएको छ । तर नेपाल तर्फ भने कुनै क्षति नभएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सूचना अधिकारी प्रदिपसिंह धामीले बताए ।

बाँधको ढोका खोलेपछि विगतको तुलानामा महाकाली नदीमा पानीको सतह बढी आएको उनले बताए । बाँधका ढोका राति ८ बजेसम्म खोलिने भएकाले महाकाली नदीमा बाढी आउने सम्भावना छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदी किनारमा बसोबास गर्नेलाई सतर्कता अपनाएर सुरक्षित ठाउँमा बस्न तथा नदी छेउछाउ नजान आग्रह गरेको छ । यस्तै जिल्ला प्रशासन कार्यालय बैतडीले समेत महाकाली नदी किनारका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

  • २६ असार २०८०, मंगलवार १५:२३ प्रकाशित