काठमाडौं ।
मर्निङ वाकमा हिड्ने महिलाहरूलाई टार्गेट गरि सिक्री लुट्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरूले बीस दिनमै शृंखलाबद्ध रुपमा एकै प्रकृतिका आठवटा चेन स्न्याचिङ गरेका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० मनोजकुमार केसीले आठवटा श्रृंखलाबद्ध ‘चेन स्न्याचिङ’ गर्ने गिरोहमा संलग्न पाँच जनालाई पक्राउ गरिएको जानकारी दिए ।
प्रहरीले चेन स्न्याचिङका मुख्य योजनाकार काभ्रेको पाँचखाल नगरपालिका ७ घर भई हाल बानेश्वर बस्ने उमेश क्षेत्री, चोरी गर्ने रामेछापको लिखु गाउँपालिका १ घर भई हाल काठमाडौंको हाँडीगाउँ बस्ने रवीन दमाई, मोटर साइकल चलाउने सुनसरीको धरान उपमहानगरपालिका ८ घर भई हाल चावहिल बस्ने रवि विक, चोरीको सुन बिक्री गर्न सहयोग गर्ने धनकुटा घर भई हाल राममन्दिर बस्ने राहुल माझी र चोरीको सुन खरिद गर्ने भारतको पश्चिम बंगाल घर भई हाल न्युरोड बस्ने श्रीकान्त मैतीलाई पक्राउ गरेको हो ।
२२ असारमा पक्राउ परेका उनीहरूलाई आइतबार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनीहरूले चोरी गरेकै बाइक प्रयोग गरेर मर्निङ वाकमा निस्किने महिलालाई पछ्याउने र पायक पर्ने ठाउँ आएपछि बाइक रोक्ने, त्यसपछि महिलालाई पछ्याएर लुटपाट गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट सुनको ढिक्का १ थान ९११।२ ग्राम०, सिक्री लुटपाट गर्ने क्रममा प्रयोग भएका मोटरसाइकल दुईवटा, मोबाइल फोन ६ थान र सुनको नेकलेस एक थान बरामद गरेको छ ।














