चर्चित रकगायक तथा अभिनेता रविन तामाङको निधन

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली चर्चित रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । उनी मंगलबार बेलुका बुढानीलकण्ठ–५ चिसेनीस्थित आफ्नै घरमा मृत भेटिएका हुन् ।

उनकी दिदी भगवती तामाङको अनुसार तामाङ घरको कोठा भित्र मृत भेटिएका हुन् । प्रहरी प्रभाग बुढानीलकण्ठका इन्स्पेक्टर दीपेन्द्र चन्दले कोठाको ढोका लक भएको र उनी भित्र मृत भेटिएको बताए ।चन्दको अनुसार रविनकी दिदिले कोठाको लक भएको र भाइ भित्र रहेको खबर गर्नासाथ घरमा पुगी ढोका फोरेर हेर्दा उनी बेड छेउमा मृत भेटिएका हुन ।

घटनास्थलमा शङ्कास्पद केही नभेटिएकोले कानुनी प्रक्रिया पुर्‍याएर आज १० बजे उनको शव पोस्टमार्टम गरिने प्रहरीले जनाएको छ । रविनको शव अहिले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

उनले गाएका ‘केटा केटी’, ‘मेरो माया’, ‘दम मारो दम’, ‘कल्पना’ लगायत कयौँ गीत युवापुस्ता माझ चर्चित छन् ।नेपाली रक ब्याण्ड ‘रविन एन्ड लुज ९रविन एन्ड दि न्यू रेभोलुसन०’का संस्थापक रविन पछिल्लो समय फिल्म अभिनयमा व्यस्त थिए । ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत दर्जन बढी फिल्ममा अभिनय गरेका उनको पछिल्लो फिल्म ‘छड्के २’ केही अगाडि प्रदर्शनमा आएको थियो । हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत उनले अभिनय गरेका छन् ।

  • २० असार २०८०, बुधबार ०८:५४ प्रकाशित