काठमाडौँ ।
सत्ता गठबन्धनको बैठक आज अपराह्न बस्दैछ ।
कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार अहिले दिउँसो चार बजेका लागि बैठक बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा कोशी प्रदेशमा नयाँ सरकार गठनको विषय छलफल एजेन्डा रहेको उनले बताए ।
विश्वासको मत पाउन नसक्दा शुक्रबार एमाले नेतृत्वको सरकार ढलेपछि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि असार २१ गते साँझ ५ बजेभित्र दाबी पेस गर्न प्रदेश प्रमुख खापुङको आह्वान छ। ९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको एक गरी ४७ सांसद छन् ।













