लेखनाथ ।
हरेक महिलाको स्वास्थ्य उपचार,समुन्नत समाजको आधार भन्ने मुलनाराका साथ पोखरा –२६ मा रहेको हेल्लो हेल्थ क्लिनिकले सञ्चालन गरेको साताब्यापी निशुल्क महिला स्वास्थ्य शिविरमा ८० जना महिलाहरुले सेवा लिएका छन् ।
रोग लाग्नु पुर्व नै अपनाउनु पर्ने होशियारीका बारेमा जनचेतना फैलाउदैं महिलाहरुमा देखिने विभिन्न प्रकारका रोगको पहिचान गर्न सहज हुने उद्देश्यले राखिएको शिविरमा वरिष्ठ महिला तथा प्रसुति रोग विषेशज्ञ प्रा.डा जुनु श्रेष्ठ कर्मचार्यले महिलाहरुमा हुने प्रसुति समस्या, स्तन तथा पाठेघरमा हुने क्यान्सर र रक्तअल्पता सम्बन्धि रोगका बारेमा परामर्श प्रदान गर्नुको साथै पाठेघरको मुखको क्यान्सर सम्बन्धि जाँच गरिएको थियो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं–२६ र २७ का जनप्रतिनिधि, लेखनाथ उद्योग बाणिज्य संघका पदाधिकारी तथा स्थानीय अगुवा समाजसेवी महिलाहरुको उपस्थितीमा भएको समापन समारोहमा हेल्लो हेल्थ क्लिनिकका सञ्चालक उप–प्राध्यापक मदन बरालले स्थानीय स्तरमा देखिने रोगको समयमा नै पहिचान नहुदाँ पछि गएर भोग्नु परेका समस्याहरुलाई मध्यनजर राख्दै विभिन्न समयमा स्वास्थ्य शिविरको आयोजना गर्दै आएको जानकारी गराएका थिए ।
सोही अवसरमा क्लिनिककी प्रबन्ध निर्देशक डा.इशा श्रेष्ठले निरोगी हुनका लागि महिला, बालबालीका, जेष्ठ नागरिक, दिर्घरोगी, मधुमेह, उच्च–रक्तचाप, थाइरोइडका विरामीहरुले समय समयमा रक्तजाँच मार्फत आफना समस्याको पहिचान गरि स्वच्छ रहन सबैैलाई अनुरोध गरेकी थिईन् ।














