पोखरा ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा मापदण्ड विपरित जथाभावी बनाएका घर संरचनालाई अभिलेखिकरणमा सहभागी हुन अन्तिम मौका दिइएको बताएका छन् । आइतबार साँझ आर्थिक आवाजको आयोजनामा पोखरामा भएको दीगो पर्यटन विकास कार्यक्रमलाई सम्बोधन गर्दैै उनले यस्तो बताएका हुन् ।
महानगरले यस अगाडि नै विभिन्न समयमा सूचिकरणका लागि गरेको आग्रहलाई व्यवसायीले बेवास्ता गरेको भन्दै उनले अन्तिम मौका पनि उपयोग नगरे महानगर फरकढंगले अगाडि बढ्ने उनले चेतावनी दिए । ‘यस अगाडि पनि महानगरले जथाभावी भौतिक संरचना बनाउनेहरुले महानगरले पटक पटक सूचिकरणका लागि गरेको आग्रहलाई बेवास्ता गरेको पाएको छु । अब पनि एक मौका दिइएको छ । यो मौका पनि गुमाउनुभयो भने, यस्ता संरचना सूचिकरण गर्न आउनुभएन भने महानगरले आफ्नैढंगले कारबाही प्रक्रिया अगाडि बढाउँछ । त्यो कारबाही पक्कैपनि अप्रिय हुनेछ । त्यो कस्तो भन्ने कुरा अहिले नै भन्न चाहन्न’ उनले भने ।
प्रमुख आचार्यले पोखरालाई थप विग्रन नदिइने समेत उद्घोष गरेका छन् । पोखराका १९ पर्यटकीय संस्थाले फेवातालमा लाज नै नमानी ढल मिसाएको, केही घर र जेलबाट समेत फेवामा ढल मिसाउने काम भएको भन्दै उनले यसलाई समयमै रोक्न महानगरले दिएको निर्देशन पालना नभए कठोरढंगले अगाडि बढ्ने बताए । पोखरा महानगरले पर्यटनलाई नै मुख्य आधार मानेर त्यसका लागि विभिन्न योजना अगाडि बढाएको भन्दै उनले दीर्घकालिन विकासका लागि महानगरले योजनावद्धरुपमा काम गर्ने जानकारी दिए ।













