मुग्लिन–नारायणगढ सडक साँझसम्म खुल्ने

केन्द्रभाग मिडिया

तस्बिर कृष्ण आचार्य/रासस

काठमाडौं ।

मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत पहिरो खस्दाँ दुईतर्फी नै बन्द भएको सडक साँझसम्म खुल्ने बताइएको छ । तुइन खोला ३ नम्बर पुलको पहिरो पन्छाउन साँझसम्म लाग्ने भएको चितवन ट्राफिक प्रहरीले जनाएको छ।

गएराति ११ बजे पहिरो खस्दा अवरूद्ध भएको सडक खुलाउन बिहानैदेखि स्काभेटर परिचालन गरिएको भए पनि पन्छाउन नसकिएको चितवन ट्राफिक प्रहरी प्रमुख राजकुमार तामाङले जानकारी दिएका छन्।

उनको अनुसार अहिले दुई वटा स्काभेटर र दुई वटा लोडर परिचालन गरेर पहिरो पन्छाउने काम भइरहेको छ । ठुल्ठूला ढुंगा थुप्रिएर रहेकाले साँझसम्म लाग्ने उनले जनाएका छन् ।

तुइन खोलाको मुग्लिनपट्टिको भागमा पहिरो गएको छैन। तर, नारायणगढतर्फको भागमा खुकुलो चट्टान रहेको र पानी पर्नासाथ पहिरो खस्ने उनले बताए।अहिले पहिरो खस्न रोकिएकाले छिटोछिटो पहिरो हटाउने काम भइरहेको ट्राफिक प्रहरीले जनाएका छन् ।
मुग्लिनतर्फबाट गएका सवारी फिस्लिङ, कुरिनटार, मुग्लिनबजारमा रोकिएको छ भने उता नारायणगढतर्फबाट आउने सवारी आँपटारी, रामनगर, जुगेडी, दासढुंगामा रोकिएको छ।

सडक अवरुद्ध हुदाँ गएरातिदेखि रोकिएका यात्रुको सडकमै बास भएको छ।

  • १७ असार २०८०, आईतवार १६:४८ प्रकाशित