राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसएसईई)को नतिजा यही साता शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।
अहिले परीक्षाफल प्रकाशनको अन्तिम कामहरु भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठको अनुसार आउने २२ गते शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
एसईईको नतिजा कुन लेटर ग्रेडिङ अनुसार सार्वजनिक गर्ने भन्ने विषयमा भने अझै निर्णय नभइसकेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
सरकारले १८ फागुन २०७८ मा संशोधन गरेको लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिकतर्फ न्यूनतम ३५ र प्रयोगात्मकतर्फ ४० अङ्क ल्याउनैपर्छ ।
सैद्धान्तिकतर्फ कुनै विषयमा ३५ भन्दा कम अङ्क ल्याएमा एनजी (नन ग्रेडेड) लेखिने र कक्षा ११ पढ्न नपाउने र एनजी लेखेको नतिजा भएका विद्यार्थीलाई मूल प्रमाणपत्र नपाउने व्यवस्था छ ।
बोर्डले गत वर्षको एसईईको नतिजा कोभिड–१९ को दोस्रो लहरका कारण पठनपाठन नियमित नभएको र वैकल्पिक सिकाइ प्रणाली पनि प्रभावकारी नभएको भन्दै ‘नन ग्रेडेड’ लागू नगर्ने निर्णय गरेको थियो ।