आज देखि पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन, प्रधानमन्त्री प्रचण्ड आउने

केन्द्रभाग मिडिया

आज देखि पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन हुने भएको छ ।गण्डकी प्रदेशको अगुवाइमा सातै प्रदेशका मुख्यमन्त्री पोखरामा भेला हुन लागेका हुन् ।मुख्यमन्त्रीहरूको भेलामा प्रदेश सरकारका समस्या सुन्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि आउने भएका छन् ।

आज शुक्रबार अन्तर प्रदेश मुख्यमन्त्री बैठक बस्ने र शनिबार प्रधानमन्त्री ‘प्रचण्ड’को अध्यक्षमा राष्ट्रिय समन्वय समितिको बैठक बस्ने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिएका छन् ।

मुख्यमन्त्रीहरुको भेला शुक्रबार प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने छन् । उद्घाटन सत्रपछि प्रदेशका अभ्यास र अप्ठेराबारे प्रमुख सचिवहरुको प्रस्तुति रहने छ ।

मुख्यमन्त्रीहरुको भेलाले प्रदेशका समस्या र संघ सरकारले सम्वोधन गर्नुपर्ने, तत्काल कानुन बनाइदिनुपर्ने तथा स्थानीय तहले सहजीकरण गर्नुपर्ने विषयको निक्र्योल गरेर प्रधानमन्त्री समक्ष पेश गर्ने छन् ।लगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आयोजना तथा गण्डकी प्रदेश सरकारको समन्वयमा राष्ट्रिय समन्वय परिषदको बैठक बस्नेछ ।

मुख्यमन्त्रीहरुले पोखरा घोषणापत्रसमेत जारी गर्नेछन् । बैठकमा सातै मुख्यमन्त्री, गाउँपालिका र नगरपालिका महासंघका अध्यक्ष पनि परिषदको सदस्यका हिसाबले सहभागी भएर सरकारका सम्बन्ध र सहकार्यबारे छलफल गर्ने छन् ।

प्रदेशले पाउनुपर्ने अधिकार, एकीकृत विकास मोडललगायत विषयमा भेलामा छलफल हुने जनाएको छ ।दुई दिने कार्यक्रम होटल पोखरा ग्राण्डमा हुनेछ ।यो सम्मेलन जेठ १० मा गर्ने तय भएको थियो । तर, प्रधानमन्त्रीको व्यस्तताका कारण त्यतिबेला सम्मेलन स्थगित भएको थियो ।

मुख्यमन्त्रीहरूको भेला दोस्रोपटक हुन लागेको हो । पहिलोपटक २०७५ साल भदौ २१ र २२ गते गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको पहलमा भेला भएको थियो । त्यो भेलाले आठ बुँदे घोषणापत्र जारी गरेको थियो ।

  • १५ असार २०८०, शुक्रबार ०९:२७ प्रकाशित