काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारका ६ महिने प्रगति सार्वजनिक भएको छ । सरकारले ६ महिनामा गरेको काम ७७ बुँदामा सार्वजनिक गरेको हो ।
७९ पुस ११ गते नियुक्ति भएका प्रधानमन्त्री प्रचण्ड सरकारले असार १० गतेसम्मको कार्यप्रगति सार्वजनिक गरेको छ ।
सरकारले जिम्मेवारी सम्हालेको ६ महिनाको अवधिमा सामाजिक न्याय, सुशासन र समृद्धिलाई सर्वोपरि लक्ष्यका रूपमा लिँदै विभिन्न नीति, कानून तथा कार्यक्रमहरू कार्यान्वयनमा ल्याउनुका साथै संस्थागत तथा प्रक्रियागत सुधारका कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको उल्लेख छ ।
समावेशी संघीय लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण, अर्थतन्त्रको पुनरुत्थान र सबलीकरण, सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण, नागरिकमैत्री प्रशासनको स्थापना, भष्टाचार नियन्त्रण र राज्यको सबै तहमा सुशासनको प्रवर्द्धन गर्न सरकार प्रयत्नशील रहेको छ ।
यस्तै, विकास निर्माण कार्यलाई गति दिन, शान्ति प्रक्रियालाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्याउन तथा स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै राष्ट्रिय हितको अधिकतम रक्षा गर्न सरकार प्रतिबद्ध रहेको जनाइएको छ ।













