काठमाडौँ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने स्पष्ट पारेका छन् ।
प्रतिनिधिसभाको आजको पहिलो बैठकमा प्रतिपक्षी दलका सांसदहरुले उठाएको विषयमा स्पष्ट पार्दै जिल्ला निर्वाचन कार्यालयको स्वतन्त्र अस्तित्व कायम नै रहने स्पष्ट पारेका हुन् ।
अर्थमन्त्री डा महतले आफू लोकतन्त्र स्थापनाका लागि लडेको भन्दै आम नागरिकले निष्पक्ष र भयरहित वातावरणमा स्वतन्त्रतापूर्वक निर्वाचनमा भाग लिन पाउने मान्यताप्रति सरकार विचलित नहुने बताए।
“हामीले निर्वाचन आयोगको स्वतन्त्रतालाई कत्ति पनि तलमाथि पार्न दिँदैनौँ । यो हाम्रो विश्वास हो”, मन्त्री महतले भने, “जिल्ला निर्वाचन कार्यालयहरु अझ स्वतन्त्र र प्रभावकारी बनाउन पहल गरिनेछ, खारेज हुनेछैन ।”
यसअघि आजको बैठकमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले जिल्ला निर्वाचन कार्यालय खारेज गरी सिडिओ कार्यालयमातहत ल्याउने प्रस्तावको विरोध गरेका थिए । उनीहरुको विरोधपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।













