काठमाडौं ।
चर्चित र्यापर गिरिश खतिवडाको क्याफेमा मासुको पैसा उठाउन गएका युवकको रहस्यमय मृत्यु भएको छ ।
गिरिशले विराटनगरमा सञ्चालन गरेको ‘जी क्याफे एण्ड विस्त्रो’ मा धनपालथान गाँउपालिका-४ का कसिद अन्सारीको क्याफेमा लडेर रहस्यम मृत्यु भएपश्चात सञ्चालक गिरिशविरुद्ध प्रहरीमा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी परेको छ ।
सञ्चालक गिरिशसहित ३ जनाविरुद्ध हत्या आरोपमा किटानी जाहेरी परेको हो ।प्रहरीका अनुसार कासिदको योजनाबद्ध हत्या भएको भन्दै क्याफे सञ्चालक विराटनगर-८ का खतिवडा, क्याफेमा कार्यरत जहदा गाउँपालिका-३ का करण राजवंशी र विराटनगर-१६ का अनुराग राउतविरुद्ध जाहेरी परेको छ । मृतक कासिदको देब्रे तिघ्रामा ३ इन्च लामो र १ इन्च गहिरो चोट रहेको पीडित परिवारले बताए ।
असार ३ गते विहान ११ बजे क्याफेमा मासुको पैसा उठाउन गएका मोरङको धनपालथान गाउँपालिका- ४ का अन्सारीको रहस्यमय मृत्यु भएको थियो ।
कर्सिया बजारमा चाँदनी फ्रेस हाउस सञ्चालन गर्ने अन्सारी त्यस दिन ४० हजार रूपैयाँ बक्यौता उठाउन भन्दै क्याफे गएको परिवारले जनाएको छ ।
होटल सञ्चालक खतिवडाले क्याफेमै लडेर गम्भीर घाइते भएको भन्दै उनलाई त्यहाँ कार्यरत कर्मचारीहरुले विराट अस्पतालमा उपचारका लागि लगेकोमा उपचारकै क्रममा मृत्यु भएको बताएका छन् ।खतिवडालाई पक्राउ भने गरिसकेको छैन ।