बिपद् न्युनिकरण,उद्धार र राहतमा विशेष ध्यान दिन गण्डकीका मुख्यमन्त्री पाण्डेको निर्देशन

केन्द्रभाग मिडिया

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिपदबाट हुने जनधनको क्षती न्यूनिकरण गर्न, उद्धार, उपचार, राहतका सबालमा विशेष ध्यान दिन निर्देशन दिएका छन् ।

बिहीवार आयोजित प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकमा बोल्दै उनले भने ‘हामीले सर्वसाधारण नागरिकको सेवा सँधै गर्नु नै पर्छ, दुःख परेका बेला सहयोगको आशा अझै धेरै हुन्छ, जनतासँग प्रदेश सरकार छ भन्ने महशुस हुने गरी हामीले काम गर्नुपर्छ ।’ प्रदेश सरकारसँग भएको साधन स्रोतको अधिकतम उपयोग गरेर सुरक्षा निकायको परिचालन र स्थानीय तहसँगको सहकार्यमा काम गर्न उनले अनुरोध गरे ।

प्रदेश सरकारले बिपद् ब्यवस्थापनकालागि आफुलाई तयारी अवस्थामा राखेको र हरेक स्थानीय तह, संघ संस्था, निजी क्षेत्र लगायत सबैको दायित्व भित्र बिपद् व्यवस्थापन पर्ने हुँदा सहकार्य जरुरी रहेको मुख्यमन्त्री पाण्डेले बताए ।

मनसुनको समय सुरु भएकाले बाढी, पहिरो, कटान, डुबान लगायतबाट हुने क्षती न्यूनिकरण सँगै अन्य बिपद्का घटनामा संवेदनशिल भएर अघि बढ्न प्रदेश सरकारले उच्च शर्तकता अपनाएको उनले बताए । तत्काल उद्धार र राहतकालागि प्रदेश सरकारले सहयोग गर्ने बताउँदै उनले उपलब्ध सामग्री, साधन स्रोत स्टोर गरेर राख्ने नभई प्रयोग ल्याउनुपर्ने बताए ।

मुख्यमन्त्री पाण्डेले बिहिवार नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण गरेका छन् । वेन मेटी ९खाना तातो बनाउने मेसिन० मोटरबोट र विभिन्न किसिमका उद्धार सामग्री गरि करिब ५२ लाख रुपैयाँको सामग्री हस्तान्तरण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

यी सामग्री सुरक्षा निकायले आवश्यता अनुसार प्रदेश र जिल्लाहरुमा पठाउनेछन् । गण्डकी प्रदेश सरकारले बिपद्मा परेकाहरुको उद्धार, खोज र राहतकालागि ११ वटै जिल्लामा विपद् कोषमा बजेट पठाउने गरेको छ । प्रदेश सरकारलेपनि विपद् कोष संचालनमा ल्याएको छ ।
परिषद् बैठकमा प्रतिपक्ष दलका नेता खगराज अधिकारी, प्रदेश सरकारका मन्त्रिहरु, नीति आयोगका उपाध्यक्ष, प्रमुख सचिव, विभिन्न संघ संस्था, सुरक्षा निकायका प्रमुखहरु लगायतको उपस्थिती थियो ।

  • ८ असार २०८०, शुक्रबार ०९:५६ प्रकाशित