काठमाडौँ । हिन्दी फिल्म प्रदर्शनमा नरोक्न उच्च अदालतले आदेश दिएको छ । हिन्दी फिल्म प्रर्दशनमा प्रतिबन्ध लगाउने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्णयमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
बिहीबार न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले फिल्म नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी चलचित्र संघका वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थले जानकारी दिएका छन् । चलचित्र संघले बुधबार बालेन शाहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेको थियो
। फिल्म ‘आदिपुरुष’ लाई देखाएर सबै हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउनु आपत्तिजनक भएको संघको भनाइ छ । आफूहरू व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै अदालतमा पुगेको र अदालतले आज आदेश जारी गरेको उनको भनाइ छ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफूले कुनै कानुन र अदालतलाई नमान्ने बताएका छन् ।
‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन’, बिहीबार शाहले आफ्नो फेसबुकमा लेखेका छन् ।
विवादित फिल्म आदिपुरुषको आपत्तिजनक संवाद नसच्याएपछि शाहले काठमाडौँ महानगरभित्र हिन्दी फिल्म सञ्चालनमा रोक लगाउने निर्णय गरेका थिए । सो निर्णयविरुद्ध उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै शाहले यस्तो अभिव्यक्ति दिएका हुन् ।
बालेनको स्टाटसमा अधिकांश सकारात्मक प्रतिक्रिया आएका छन् ।














