पोखरा ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज (बुधबार) पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण गर्दैछ । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्स पहिरो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको हो ।
जहाज ९ बजेर २५ मिनेटमा पोखरामा अवतरण गर्ने कार्यतालिका रहेको छ । सो जहाज १ घण्टा पोखरामा रहने भएको छ । त्यसपछि पोखराबाट काठमाडौँ उड्ने र उतैबाट पुनः चीन फर्किनेछ ।
भोलि(बिहीबार)देखि पोखरामा हुने नेपाल–चीन ड्रागन बोट रेस फेष्टिभलमा आफ्ना खेलाडी ल्याउन सिचुवानले न्यारोबडी ३१९ चार्टर्ड गरेर आउन लागेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सिचुवानलाई उडान अनुमति दिएको छ । सिचुवानमा नेपालबाट गएका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सहित उच्च पदस्थ अधिकारीहरू र चिनियाँ खेलाडीहरू पोखरा आउने कार्यक्रम तय भएको बताइएको छ । जहाजमा १ सय ३० जना यात्रु आउनेछन् ।













