बाढी पहिरोमा परी हालसम्म १० जनाको ज्यान गयो, २६ जना बेपत्ता : गृहमन्त्री श्रेष्ठ

केन्द्रभाग मिडिया

काठमाडौँ ।

यस वर्ष मनसुन सुरु भएसँगै बाढीपहिरोबाट हालसम्म १० जनाको ज्यान गएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६ जना घाइते, २६ जना बेपत्ता र ५४ घर पूर्ण रूपमा क्षति भएको जानकारी दिएका हुन् ।

मन्त्री श्रेष्ठले असार २ गते रातिदेखिको अविरल वर्षाका कारण सङ्खुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा बढी असर परेको बताए । उनले भने – ‘यस वर्ष नेपालमा मिति २०८० जेठ ३१ गतेबाट मनसुन प्रवेश गरेको छ ।

यसको असर नेपालको पूर्वी पहाडी जिल्लाहरूमा सङ्खुवासभा, ताप्लेजुङ, पाँचथरमा बढी देखिएको छ । असार २ गते रातिदेखिको अविरल वर्षाका कारण बाढी, पहिरो, डुबान लगायतका विभिन्न विपद्का घटनाहरूबाट देशको पूर्वी भूभागका सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा केही व्यक्तिहरूको मृत्यु हुनुका साथै केही घाइते र बेपत्ता भएका छन् ।

विपद्का घटनाहरूबाट हालसम्म १० जनाको मृत्यु, ६ जना घाइते, २६ जना बेपत्ता छन् भने ५४ घर पूर्ण रूपमा क्षति भएको जानकारी प्राप्त भएको छ । विवरण आउने क्रम अझै जारी छ ।’श्रेष्ठले भनेका छन्

गृहमन्त्री श्रेष्ठले विपद् पीडित उद्धार तथा राहत सम्बन्धी मापदण्ड २०७७ अनुसार मृतकको परिवारलाई राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको बताए ।

  • ५ असार २०८०, मंगलवार १५:५४ प्रकाशित