पोखरामा आत्महत्या रोकथाम सम्बन्धी गोष्ठी, रोकथामका लागि गण्डकी सरकार जिम्मेवारीपूर्वक प्रतिवद्ध छ : स्वास्थ्यमन्त्री सिंखडा

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा आत्महत्या रोकथाम सम्बन्धी पत्रकार कार्यशाला गोष्ठी भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्रको आयोजनामा भएको उक्त गोष्ठीको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकीकी मन्त्री शुसीला सिंखडाले उद्घाटन गरेकी थिइन् ।

पछिल्लो समयमा बढीरहेको आत्महत्याका घटनालाई न्युनिकरण गर्नका लागि पत्रकारले खेल्नुपर्ने भुमिका र मार्गदर्शनका लागि उक्त गोष्ठीको आयोजना गरिएको आयोजकले जनाएको छ ।  मन्त्री सिंखडाले आत्महत्या न्युनिकरणका लागि यसका कारणलाई गहिराईमा गएर अध्ययन गर्न आवश्यक रहेको बताईन् ।

आत्महत्याका समाचार सम्प्रेषण तथा प्रकाशन गर्दा भ्युज र टिआरपीमा मात्र केन्द्रित नभई तथ्य सार्वजनिक गर्दा वास्तविकताको सुक्ष्म अध्ययन गरी समाजमा नकरात्मक असर नपर्ने गरि गर्नुपर्ने भनाई राखिन् ।मन्त्री सिंखडाले विशेषगरी आत्महत्याको कारणको अध्ययन गर्नुपर्नेमा जोड दिइन् ।

उनले भनिन्,‘आत्महत्याका घटनालाई नियाल्दा असमान शिक्षा,फरक पारिवारिक स्तर,धार्मिक असमानता, विवाह ,प्रेम सम्बन्धमा जटिलता, आर्थिक अभाव आत्महत्याका मुख्य कारण रहेको तथ्यांकले देखाउँछ। यी बाहेक पनि अन्य थुप्रै कारणहरु हुन सक्छन् । सर्वप्रथम त्यस्ता कारणहरुको अध्ययन गर्नुपछ ।’

आत्महत्या न्युनिकरणका लागि कारण पत्ता लगाउन र ती कारणलाई सहज बनाउन गण्डकी प्रदेश सरकार र आफु जिम्मेवारीपूर्वक प्रतिवद्ध रहेको मन्त्री सिंखडाले जिकिर गरिन् ।

उनले वडावडामा यसको विषयमा छलफलको जरुरी रहेको बताईन् ।यस्तै सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विनोदबिन्दु शर्माले बोली व्यवहारमा सुधार गनुपर्ने बताए ।

उनले भने,‘हामीले गर्ने बोली र व्यवहार नै आत्महत्याको कारण हुनसक्छ। त्यसैले पहिला हाम्रो बोली व्यवहार परिवर्तन गरौं। ’
सचिव शर्माले गण्डकीमा अन्तरगं र बहिरंग सेवा सञ्चालन गर्न लागेको बताए ।

९५ प्रतिशत आत्महत्याका घटना मानसिक स्वास्थ्यसँग सम्बन्धित रहेको तथ्यांक

गोष्ठीमा राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्रका वरिष्ठ जनस्वास्थ्य अधिकृत डक्टर बासु कार्कीले आत्महत्या मानसिक स्वास्थ्यसँग सम्बन्धित रहेको उल्लेख गरे ।

आत्महत्या मुख्यत मानसिक स्वास्थ्य अवस्थाका कारण बढी हुने गरेको सर्वेक्षणमा देखिएको डा.कार्कीको भनाई थियो । आत्महत्याका घटना ९५ प्रतिशत मानसिक स्वास्थ्य अवस्थाको कारणले हुने तथ्यांक रहेको उनले उल्लेख गरे ।

यस्तै उनले आत्महत्या रोकथामका लागि त्यस्ता सोचाइ भएका व्यक्तिले परामर्श लिनको लागि २४ सै घन्टा हाल निशुल्क हेल्पलाईन नम्बर ११६६ सञ्चालनमा रहेको जानकारी दिए ।

गोष्ठीमा आत्महत्या रोकथामका लागि सञ्चारकर्मीले सहयोग पाउन सकिने ठाउँको बारेमा सूचना दिनुपर्ने,आत्महत्या रोकथामको बारेमा गलत धारणा नबढाई जनचेतना जगाउनुपर्ने,आत्महत्याका घटनाका समाचार सम्प्रेषण गर्दा सकारात्मक कुराहरु समावेश गर्ने, तनाव र आत्महत्याा सोचाईको सामान कसरी गर्ने र सहयोग कसरी गर्ने भन्नेबारे सूचना दिनुपर्ने सुझाव दिइएको थियो ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

  • ५ असार २०८०, मंगलवार १६:४४ प्रकाशित