मेयर आचार्य भन्छन् ‘कुनै हालतमा फेवा सिमसार पुरेर आवास बनाउन दिइन्न’

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरका प्रमुख धनराज आचार्यले फेवा सिरानको सिमसार क्षेत्रमा आवास प्रयोजनका लागि जग्गा खरिद विक्री नगर्न आग्रह गरेका छन् । उक्त क्षेत्रमा आवास निर्माण गर्न नदिइने प्रष्ट पार्दै उनले यस्तो आग्रह गरेका हुन् ।

शनिबार विहान जलकुम्भी सफाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिमसार क्षेत्रमा माटो संरक्षण गर्ने खालका बोटविरुवा र कृषि कर्ममात्र गर्न पाइने बताए । ‘ध्यान दिएर सुन्नुहोला सिमसार क्षेत्रमा कसैले आवास बनाउँछु भन्दै जग्गा खरिदविक्री नगर्नुहोला । यहाँ कुनैपनि हालतमा घडेरी बनाएर घर निर्माण गर्न दिइने छैन । त्यसका लागि कसैलेपनि लगानी नगर्नुहोला’ उनले भने, यस क्षेत्रमा कुनैपनि हालतमा आवास निर्माण गर्न दिइने छैन । यहाँ सिमसारलाई असर नगर्नेगरी फलफूल तथा कृषि कर्म गर्नपाइन्छ । आवास प्रयोजनका लागि प्रयोग गर्न पाइन्न’

मेयर आचार्यले जलकुम्भी झार निकाल्ने, फेवाताल देखि खोलानाला एवं सार्वजनिक स्थलको सफाईका लागि अभियान नै चलाइएकामा उनले नागरिक समाज लगायत सबै संघसंस्था र नगरवासी प्रति आभार प्रकट गरे ।

पोखरा–१८, ढल्केबर आसपास क्षेत्रमा फेवाताल संरक्षण अभियान अन्तर्गत पोखरा महानगरपालिका तथा नागरिक समाज कास्की र वातावरण संरक्षणका लागि महाअभियानले संयुक्त रूपमा जलकुम्भी  निकाल्ने कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा झण्डै १० ट्रक जलकुम्भी निकालिएको नागरिक अभयान्ता रामबहादुर पौडेलले जानकारी दिए ।

नागरिक जागारण अभियान अन्तर्गत आफूहरुले यस्ता कार्यक्रमलाई निरन्तरता दिइरहने उनले बताए । अघिल्लो हप्ता ताल र किनारामा रहेका प्लाष्टिक, मदिरा जन्य पदार्थका बोत्तल लगायतका फोहोर संकलन गरिएकोमा यसपाली जलकुम्भी झार निकाल्ने कार्यक्रम भएको हो ।

जलकुम्भी निकाल्ने कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाही, विभिन्न वडाका अध्यक्षसहित जनप्रतिनिधि तीनवटै सुरक्षा अंगका प्रतिनिधि, पोखरा महानगरको टिम, खपौंदी र भकुण्डेमा क्रियाशील संघसंस्थासहितको सहभागिता रहेको थियो ।

 

 

 

 

 

 

 

  • २ असार २०८०, शनिबार २०:३४ प्रकाशित