काठमाडौँ ।
सभामुख देवराज घिमिरेले संघीय शिक्षा ऐन चाँडो ल्याउन जरुरी रहेको बताएका छन् । बिहीवार कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला)को आठौं संस्करणको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले संसद चालु रहेकाले सरकारले छिटो संघीय शिक्षा ऐन ल्याउने आशा गरेको बताए । सभामुख घिमिरेले नेपाललाई शैक्षिक केन्द्र बनाउन सरकारी र निजी क्षेत्रबाट समन्वयात्मक भूमिका निर्वाह हुनुपर्ने बताए । उनले देशमै विद्यार्थीहरुलाई उच्च शिक्षा प्रदान गर्नका लागि यस किसिमका मेलाहरु महत्वपूर्ण हुने बताए ।
‘स्वदेशमा कसरी व्यवहारिक ढंगबाट प्राविधिक शिक्षाहरु अध्ययन गर्न सकिन्छ भन्नेकुरा यस मेलाले बुझाउँछ । नेपाललाई सुहाउने खालको शिक्षाको विकास गर्ने सन्दर्भमा विश्व विद्यालयसँग सम्बन्धित शिक्षा नीतिहरु आएपनि व्यवहारमा अझै लागू गर्न केही समस्या देखा परिरहेका छन्’ उनले भने,‘परिवर्तित समयसँगै नयाँ शिक्षा ऐन ल्याउने बारेमा प्रत्येक सरकारले कोशिस गरेका छन् । तर सफल हुन सकेका छैनन् । यी ऐन ल्याउन चुनौति जस्तो देखिएको छ । ऐन ल्याउन अहिले संसद चलिरहेको छ, छिटो ढंगबाट आउन सकोस् ।’













