यस वर्ष मनसुन भित्रिन अझै केही दिन लाग्ने भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सोमबार साँझ दिएको जानकारी अनुसार नेपालमा वर्षाको आगमन औसत मिति (जुन १३ तारिख) भन्दा एक–दुई दिन ढिलो भित्रिने भएको हो ।
महाशाखाले यस वर्षको मनसुन प्रणाली भारतको उत्तर पूर्वी भू-भाग, बङ्गलादेश र भुटानसम्म आइपुगेको जनाएको छ । नेपालको पूर्वी भू-भाग कोशी प्रदेशमा मनसुन भित्रनको लागि अझै केही दिन लाग्ने महाशाखाले बताएको हो ।
केही दिनदेखि देशका मध्य तथा पश्चिमी भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको भन्दै महाशाखाले अझै चार दिन लूको सम्भावना रहेको बताएको छ ।
महाशाखाले आगामी चार दिन (जेठ ३० देखि असार १ गते) सम्म तातो हावा तथा लूको सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।














