अस्पतालमा मुसा नियन्त्रण गर्न एक लाख २० हजार

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सिटी स्क्यान मेसिन ६ दिन देखि बिग्रको छ । १० महिना पहिले खरिद गरिएको ७ करोडको मेसिन तीन पटकसम्म बिग्रीसकेको छ ।

त्यही मेसिनको सुरक्षा गर्न भन्दै अस्पतालले एक लाख २० हजार रुपैया खर्चेर मुसाको नियन्त्रण गर्ने विधि अपनायो । मुसाको कारण मेसिन बिग्रेको भन्दै अस्पतालले मुसा नियन्त्रणको उपाय खोजेको थियो ।

मेसिन सप्लाइ गर्ने सप्लायर्सले उक्त मेसिनको ५ वर्ष सम्म बिग्रेमा मर्मत संभार गर्नुपर्ने सहमती छ । सप्लायर्सले मुसाले दुखः दियो भने पछि मुसा नियन्त्रणको विधि अपनाइएको अस्पतालका निर्देशक प्रा. डा. भरतबहादुर खत्रीले जानकारी दिए । पशु चिकित्सकको सल्लाहमा मुसा नियन्त्रणको लागि ३० हजारका दरले ४ वटा बक्स खरिद गरेर राखिएको खत्रीले बताए ।

मुसा नियन्त्रणको प्रयास पछि मुसा आएको पनि छैन, मुसा भएत कोठा गनाएको पनि थाहा हुन्छ नी मुसा पसेको छैन, खत्रीले भने ।
पाँच वर्षसम्म मर्मत र पाटपुर्जा फेर्न परे (सिएमसी) भनेर नै खरिद गरिएको हो । कोठा बनाउने डेकोरेसन गर्ने सबै काम सप्लायर्सकै हो ।

उहाँहरुले बनाउने क्रममा मुसाले दुख दियो भन्नु भयो त्यस पछि मुसा भित्र नपस्न के–के उपाय गर्न सकिन्छ भनेर गरेको हो, खत्रीले भने ।
सामानमा वा मेन्टेनेन्समा कहाँ समस्या छ, उहाँहरुसंग सल्लाह भइरहेको छ । मलाई पनि अचम्म्म लाग्छ तीन चोटी बिग्रिसक्यो, सायद हाम्रो ओभरलोड होकी भन्ने छ, त्यही भएर त्यसलाई लोड घटाएर काम गर्नेकी भन्ने छलफल भइरहेको छ ।

मेसिन बिग्रेका वारे हेर्नका लागि तीन वटा सिसिटीभी क्यामेरा राख्न निर्देशन दिएको खत्रीले बताए । सामानको फल्ट हो की मुसाले हो भन्ने जान्न पनि क्यामेरा जडान गर्न लागिएको उनले बताए ।

मेसिन विग्रे पछि सेवाग्राही भने मर्कामा परेका छन् । अस्पतालले हरियोखर्क अस्पतालसंग अस्पतालले लिने शुल्कमा नै सिटी स्क्यान गर्ने गरी संझौता गरेको छ । विरामीलाई लैजान ल्याउनका लागि एउटा गाडीको व्यवस्था पनि गरिएको छ । हरियो खर्कको मेसिनले पनि लोड धान्न नसके पछि एउटा रिपोर्टका लागि ३÷४ दिन कुर्नुपर्ने बाध्यता भएको छ ।

बिग्रेको मेसिन बनाउन सप्लायर्सलाई अस्पतालले आग्रह गरे पनि नेदरल्याण्डबाट उक्त सामान ल्याउन पर्ने भएकाले कहिलेसम्म बन्ने हो भन्नेमा अस्पताल प्रशासन पनि अनविज्ञ छ ।

साउन २३ गते अस्पतालमा नयाँ मेसिनबाट सेवा सुरु गरिएको थियो। दैनि ३० जनाले सिटी स्क्यानको सेवा लिदै आएका थिए ।

 

  • २९ जेष्ठ २०८०, सोमबार १८:३४ प्रकाशित