सोलुखुम्बु ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा १२ वर्षपछिकै गर्मी बढेको छ । अघिल्ला वर्षहरूभन्दा यसपाली नाम्चेको तापक्रम बढेको बताइएको छ । एक सातायता सगरमाथाको काख नाम्चे बजारमा गर्मी बढेको हो । १२ वर्षअघि यस्तै गर्मी बढेको स्थानीयहरू बताउँछन् ।
एक सातादेखि लगातार टन्टलापुर घाम लागिरहेको छ । सधैं शीतल र जाडो हुने नाम्चेमा दैनिक तापक्रम १२ डिग्री सेल्सियससम्म पुगेको छ ।अघिल्ला वर्षहरुमा यो सिजनमा औसत तापक्रम ४, ५ डिग्री सेल्सियस पुग्ने गरेकोमा यसापाली भने १२ डिग्री पुगेको बताइएको छ । जसका कारण स्थानीय घरबाहिरका काम हिड्न मुश्किल परेको जनाइएको छ ।
समुन्द्र सतहबाट ३४ सय मिटरको उचाईमा रहेको नाम्चेमा तत्काल अधिक वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हल्का वर्षाको संकेत देखिए पनि तापक्रम घट्ने गरी पानी पर्ने सम्भावना नरहेको बताइएको छ ।














