पोखरा ।
नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभीए) गण्डकी प्रदेशले चालक तथा सहचालकलाई प्रशीक्षण दिएको छ । पर्यटक यातायात सेवालाई गुणस्तरीय र भरपर्दो बनाउने उद्देश्यका साथ संघसँग आवद्ध १२० जना चालक तथा सहचालकलाई प्रशीक्षण दिइएको संघका अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिए ।
संघसँग पर्यटक स्तरीय लगभग ४०० को संख्यामा पर्यटक सवारीसाधन रहेको बताउँदै उनले वार्षिक कार्ययोजना अनुरुप नै प्रशीक्षण दिइएको बताए । कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटकको आतिथ्यतामा चालक तथा सहचालकको भूमिका महत्वपूर्ण हुने बताए । चालक तथा सहचालकले गर्ने व्यवहारले पर्यटकमा महत्वपूर्ण प्रभाव पार्ने बताउँदै उनले सभ्य तथा शिष्ट व्यवहार गर्नुपर्नेमा जोड दिए ।
आतिथ्यता व्यवस्थापन (हस्पिटालिटी म्यानेजमेन्ट) बारे प्रशीक्षण दिदै संघका पूर्व अध्यक्ष एवम् सल्लाहकार बोबरजंग गुरुङले हामीले बोल्ने बोली र गर्ने व्यवहारले सभ्यताको संकेत गर्ने बताए ।
संघका अध्यक्ष पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष दुर्गादत्त दहाल, महासचिव विकासप्रसाद कंडेल लगायतले बोलेका थिए ।
कार्यक्रममा अग्नी ग्रुपका प्रमुख रामेश्वर महर्जजन, बजार प्रमुख राजेश रानाभाट, बतास बर्दश ९युडिआर० प्रमुख विनोद पोते, प्रहरी बरिष्ठ नायव निरिक्षक शिवप्रसाद पाठकले प्रशीक्षण दिएका थिए ।