काठमाडौँ ।
नेकपा एमालेले आज संसद बैठक चल्न नदिने रणनीति बनाएको छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्ति जनक रहेको बताउँदै एमालेले माफी नमागे सम्म संसद चल्न नदिने बताएको छ ।
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा नेपाली भूमि लिपुलेक भारतलाई दिएर त्यही बराबरको भूमि बङ्गलादेश जोड्ने भूमि भारतबाट लिन सकिने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिमा एमालेले आज संसदमा जवाफ माग्ने भएको छ ।
यस्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेले निस्कृय भैसकेको नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै त्यो निर्णय नसच्चाएसम्म संसद् चल्न नदिने बताएको छ ।
‘यी दुवै विषयमा हामी संसद्मा प्रधानमन्त्रीको जवाफ माग्छौ’, एमाले प्रमुख सचेतक पदम गिरीले भने ,‘प्रधानमन्त्रीले माफी माग्नुपर्छ । यो नभएसम्म सदन अघि बढ्न सक्दैन ।’
राष्ट्रपतिले नागरिकता विधेयक राष्ट्रपतिले असंवैधानिक ढङ्गले प्रमाणीकरण गरेकाले सो निर्णय सच्चाउनुपर्ने एमालेको भनाइ छ ।प्रतिनिधिसभाको आजबाट बस्ने बैठकमा सरकारको वार्षिक बजेटमाथि छलफल हुँदैछ ।













