गण्डकीको नीति तथा कार्यक्रम आज आउने

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रदेश सभाम प्रस्तुत हुदैँछ । दिउसो २ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

यसअघि आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेमगरले जेठ १२ गते बजेटका सिद्धान्त र प्राथमिकता प्रदेश सभामा प्रस्तुत गरेका थिए । उनले पुराना योजनार बहुवर्षीय योजनालाई निरन्तरता दिने, डिपिआर बनेका र तत्काल ठेक्का लाग्न सक्ने योनजनालाई प्राथमिकता दिने बताएका थिए । भने सरकारी कार्यालयको सेवा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिने बजेटको प्राथमिकता र सिद्धान्तमा समेटिएको थियो ।

सरकारले स्वास्थ्य सेवा सुधार तथा सुविधा बृद्धि तर्फ विशेष कार्यक्रम ल्याउने संकेत गरेको छ, भने कृषिलाई पनि प्राथमिकता दिने आर्थिक मामिला मन्त्री आलेले बताएका छन् ।

आगामी वर्षका लागि बजेटको आकार घटाउने सम्भावनाकाबीच प्रदेश सरकारले नीति तथा कार्यक्रमलाई पनि सोही अनुसार समेट्नु पर्ने बाध्यता छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले ३५ अर्ब ९० करोड रुपैयाँको बजेट ल्याएको थियो । केन्द्रीय अनुदानमा निर्भर रहेको प्रदेशको बजेट संघ सरकारले अनुदान रकम कटौती गरेसगै बजेटको आकार घट्ने संकेत देखिन्छ ।

बजेट घट्ने आकलन गरिरहेका बेला मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खर्च कटौती गर्ने घोषणा पनि यस पहिलो सार्वजनिक मन्तब्य दिएका थिए । तर, आलोचित संसद विकास कोषलाई भने प्रदेश सरकारले कटौती नगर्ने संकेत गरेको छ ।

प्रदेशले असार १ गते बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था छ । बजेट ल्याउनुपूर्व नीति तथा कार्यक्रम सभामा पेश गर्ने र पास गर्नुपर्ने हुन्छ । सोही अनुसार आगामी आर्थिक वर्ष २०८०/ ०८१ को बजेटलाई केन्द्रीत गरेर सरकारले नीति तथा कार्यक्रम ल्याउदै छ ।

 

  • २१ जेष्ठ २०८०, आईतवार १०:३३ प्रकाशित