पोखरा ।
नेपालका ओलम्पियनहरुलाई पोखरामा सम्मान गरिएको छ । पोखरा महानगरपालिका, नेपाल ओलम्पियन संघ र पोखरा महानगर खेलकुद विकास समितिकोको व्यवस्थापनमा प्रभातफेरी सहित ओलम्पियनहरुलाई सम्मान गरिएको हो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको विकास पर्यटनसँगै खेलकुदका माध्यमबाट समेत उत्ति कै महत्वपूर्ण हुने बताए । पोखरालाई खेल पर्यटनको हबका रूपमा विकास गर्न पोखरा महानगरपालिका निरन्तर लागिरहेको बताउँदै उनले खेलकुदसँग सम्बन्धित हरेक गतिविधिहरूमा महानगरपालिका सँगै अगाडी बढिरहेको बताए ।
नेपालका पहिलो ओलम्पियन क्या।रामप्रसाद गुरुङसहित ५० जना ओलम्पियनहरुलाई पोखराको फेवाताल किनार बाराहीघाटमा सम्मान गरिएको छ । गण्डकी प्रदेशका ७ जना ओलम्पियनहरु मध्ये ५ जना सम्मानित भएका छन् ।
ओलम्पियनहरुलाई सम्मान पश्चात् फेवा डुङ्गा व्यवसायी संघको समन्वयमा फेवातालमा डुङ्गा सयर सहित तालबाराही मन्दिरको दर्शन गराइएको पोखरा खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले बताए ।
नेपाली ओलम्पियनहरूको छाता संस्था नेपाल ओलम्पियन संघको आयोजना तथा पोखरा महानगरपालिका खेलकुद विकास समिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीको समन्वयमा भएको दोस्रो ओलम्पियन पुनर्मिलन तथा ओलम्पियन सम्मान कार्यक्रममा सहभागी हुन उनीहरू पोखरामा भेला भएका हुन्।