प्रधानमन्त्री प्रचण्डलाई भारतका विदेश राज्यमन्त्रीले गरिन् बिदाइ

केन्द्रभाग मिडिया

नयाँ दिल्ली ।
चारदिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतका विदेश राज्यमन्त्री मिनाक्षी लेखीले बिदाइ गरेकी छिन् ।

शनिबार दिउँसो दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधि मण्डललाई विदेश राज्यमन्त्री लेखीले बिदाई गरेकी हुन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा जेठ १७ गते भारत पुग्नुभएका प्रधानमन्त्री शनिबार स्वदेश फर्किन लागेका हुन्।प्रधानमन्त्री प्रचण्डलाई जेठ १७ गते दिल्ली पुग्दासमेत विदेश राज्यमन्त्री लेखीले नै स्वागत गरेकी थिइन् ।

भारतबाट नेपाल फर्किएपछि प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार साँझ ६ बजे विमास्थलको अति विशिष्ट कक्षमा पत्रकार सम्मेलको आयोजना हुने जानकारी दिएको हो।

प्रधानमन्त्रीसँगै भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, अर्थमन्त्री डा प्रकाश शरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल छन् ।

  • २० जेष्ठ २०८०, शनिबार १७:३० प्रकाशित