काठमाडौं ।
भारतको ओडिशा राज्यअन्तर्गत बालासोर जिल्लानजिकै भयानक रेल दुर्घटना हुँदा २३३ जनाको ज्यान गुमेको छ छ भने ९ सय जना घाइते भएका छन् ।
बीबीसी हिन्दीका अनुसार शुक्रबार हावडा–चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किँदा दुर्घटना भएको हो । अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर–हावडा सुपरफास्ट ट्रेन पनि त्यसमा ठोक्किएको थियो। दुर्घटना शुक्रबार साँझ ७ बजेतिर बालासोर जिल्लाको बाहानागा बजारस्टेसननजिकै भएको हो ।
ओडिशाका मुख्य सचिव प्रदीप जेनाले ट्विट गर्दै दुर्घटनामा २३३ जनाले ज्यान गुमाएको उल्लेख गरेका छन् । दुर्घटनामा झन्डै ९०० जना घाइते भएको उल्लेख गरेका छन् ।
रेलमन्त्री अश्विनी वैष्णव आफै दुर्घटनास्थल गएका छन्। उनले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्।
यसका साथै गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरिएको छ ।
ओडिशाका मुख्य सचिव प्रदीप जेनाले रेल दुर्घटनामा घाइते भएकाहरूलाई गोपालपुरको अस्पतालमा भर्ना गरिएको बताएका छन्। यसबाहेक केही घाइतेहरूलाई बालासोरको मेडिकल कलेजमा भर्ना गरिएको छ।