काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रेशम चौधरीलाई आममाफी दिएर सरकारले सर्वोच्च अदालतमाथि बलमिच्याइँ गरेको टिप्पणी गरेका छन् ।
सोमबार ललितपुरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले अहिले राजाको शासन नभएकाले कसैको हुकुम चल्न नहुने बताए ।
‘आज सरकारलाई मन लाग्यो, सरकारले निर्णय गरिदियो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो’, उनले भने, ‘यो राजाको शासन होइन, यहाँ हुकुम चल्दैन । यो गणतन्त्र हो । गणतन्त्रमा केवल कानुन मात्रै चल्छ । कानुनको शासन मात्रै हुन्छ ।’
सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआउँदै हतारहतार निर्णय गरेको भन्दै उनले असन्तुष्टि जनाए ।













