काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव रहेको बताएका छन् ।
गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई छिट्टै अतिकम विकसित राष्ट्रबाट विकासशील र विकसित राष्ट्रमा रूपान्तरण गरी मुलुक र जनताको प्रतिष्ठा अभिवृद्धि गर्न वर्तमान सरकार क्रियाशील रहेको बताए ।
शुभकामना सन्देशमा प्रधानमन्त्रीले भने “संविधान र गणतन्त्र सर्वस्वीकार्य बन्दै जानु, मौलिक हकको कार्यान्वयनमार्फत जनताले पाउने आधारभूत सेवा सहज बन्दै जानु, सयौँ वर्षदेखि उत्पीडनमा पारिएका वर्ग, जाति, भाषा, धर्म, क्षेत्र, लिङ्ग र संस्कृतिका समुदायको अधिकार स्थापित हुँदै नेपाल राज्यप्रतिको उनीहरूको अपनत्व बलियो बन्दै जानु गणतान्त्रिक व्यवस्था संस्थागत हुँदै गएको देखिने बलिया आधार हुन् ।”
नेपाली जनताले इतिहासका विभिन्न कालखण्डमा गरेका बलिदानीपूर्ण सङ्घर्षको जगमा विसं २०६५ जेठ १५ गते तत्कालीन संविधानसभाबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक निर्णय भएको प्रधानमन्त्रीले स्मरण गरे ।
“एकात्मक सामन्ती केन्द्रिकृत राज्यव्यवस्थाको समूल अन्त्य गर्दै जनताका प्रतिनिधिबाट जनताले शासन गर्न पाउने सङ्घीय, समावेशी लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको १५ वर्ष पूरा भएको छ”, प्रधानमन्त्रीले सन्देशमा भने, “यसर्थमा आजको दिनलाई नेपालको राजनीतिक इतिहासलाई नयाँ युगतर्फ लैजाने ऐतिहासिक दिनका रूपमा स्मरण गर्नुपर्छ । सयौँ वर्षदेखिको वंशवादी सामन्ती प्रणालीलाई अन्त्य गरी जनताको व्यवस्था स्थापना गरिएको घटना सामान्य कदापि थिएन ।”
प्रधानमन्त्रीले गणतन्त्रलाई संस्थागत गर्ने क्रममा हाम्रा सामु कैयन चुनौती देखिए पनि हामीले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई समावेशी लोकतन्त्रको अभ्यास गर्ने उत्कृष्ट व्यवस्थाका रूपमा स्थापित गर्न पहल गरिरहेको उल्लेख गरे ।













