अब बेगनास तालमा मोटरबोटबाट सयर गर्न पाइने

केन्द्रभाग मिडिया

विमल तिवारी,
पोखरा ।

पोखराको बेगनास तालमा मोटरबोट भित्र्याइएको छ । शुक्रबार साँझ ल्याइएको मोटरबोट इन्जिन सेट गरेर परीक्षण गरिएको वेगनास डुंगा व्यवसायी समितिका अध्यक्ष रविराज कंडेलले जानकारी दिए । उक्त मोटरबोट छिट्टै सञ्चालनमा ल्याउने तयारी रहेको उनले बताए । ‘एक कार्यक्रमकै आयोजना गरेर मोटरबोट सञ्चालनको तयारीमा छौं’ उनले भने ।

डुंगा व्यवसायी समितिका सदस्यहरु बीच पैसा उठाएर ल्याइएको मोटरबोटका लागि ५० लाख रुपैयाँ लगानी भएको उनले जानकारी दिए । उक्त मोटरबोटलाई रेस्क्यु, बराह मन्दिर दर्शन र ताल पारीबाट यात्रु तार्नका साथै माझीकुवा सम्म पर्यटन प्रवर्दनका लागि प्रयोग गर्ने सोचमा आफूहरु रहेको उनले जानकारी दिएका छन् । उक्त मोटरबोटमा एक पटकमा २० जनाले यात्रा गर्नसक्छन् ।

वडा नम्ब ३१ का वडाध्यक्ष टंकनाथ कंडेलले मोटरबोटले बेगनास ताल र यस वरपरको पर्यटन प्रवर्दनमा महत्वपूर्ण सहयोग गर्ने बताए । तालपारी १३०/३५ घर रहेको र उक्त स्थानमा बस सुविधा समेत दिनमा एक पटक मात्र रहेकाले त्यस क्षेत्रका बासिन्दाका लागि यात्रा गर्न, विरामी ल्याउन र अन्य काम गर्न समेत डुंगा उपयोगी हुने उनले अपेक्षा गरेका छन् ।

बेगनास तालमा डुंगा ल्याउने एक वर्ष अगाडि देखिको सपना डुंगा व्यवसायीले पुरा गरेको टिप्पणी गरे । ‘मोटरबोट स्थानीयका लागि यातायातको साधन, यस क्षेत्रको पर्यटन प्रवद्धन र बराह क्षेत्रमा जाने भक्तजनलाई समेत सहज हुनेछ’ उनले भने, ‘अब साढे तीन किलोमिटरको दुरी १० मिनेट भित्र आउन जान सकिने भएको छ ।’ यसमा घुम्न आउन र आनन्द लिन आग्रह गरेका छन् ।

 

  • १४ जेष्ठ २०८०, आईतवार १८:०१ प्रकाशित