पोखरामा सिसी क्यामेराबाट ट्राफिक निगरानी, ५२० चालकलाई कारवाही

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरामा सिसी क्यामेराबाट ट्राफिक निगरानी सुरु भएको छ । यही १ जेठबाट सिसी क्यामेराबाट निगरानी गर्न सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता वरिष्ठ प्रहरी नायव निरीक्षक शिव प्रसाद पाठकले जानकारी दिए ।

उनका अनुसार पृथ्वीचोक, सभागृहचोक, चिप्लेढुंगा, महेन्द्रपुल र सहिदचोक लगायतका चोकहरुमा रहेका सिसी क्यामेराबाट निगरानी गरिएको बताए । दैनिक ३५ देखि ४५ को हाराहारीमा सवारी चालक सिसी क्यामेराको निगरानीबाट कारबाहीमा पर्ने गरेको उनको भनाई छ ।

यसको निगरानी गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नै हुने र आफूहरुलाई जानकारी आउनासाथ कारबाही गरिने गरेको प्रवक्ता पाठकले जानकारी दिए । ‘मुख्य चोकहरुमा रहेका सिसी क्यामेराले ट्राफिक नियम उल्लघंनको जानकारी दिन्छन् ।

यसको निगरानी प्रदेश प्रहरी कार्यालयबाट हुन्छ । हामीलाई तत्कालै विवरणसहितको जानकारी आउँछ । अनि हामी नियम अनुसार कारबाही गर्छौं’ उनले भने ।

उनले ‘ट्राफिक प्रहरीको उपस्थिति छैन जे गरेपनि हुन्छ’ भनेर सवारी चलाउने दिन गएको टिप्पणी गरे । सामान्यतया ट्राफिक प्रहरी उपस्थित नभए जसरी सवारी चलाएपनि हुन्छ भन्ने मान्यता देखिन्छ अब हाम्रो उपस्थिति नभएको बेला सवारी नियम उल्लघंन गरेपनि कारबाही हुन्छ ’ उनले भने ।

प्रवक्ता पाठकका अनुसार १३ दिनको अवधीमा सिसी क्यामेराको निगरानी बाट नै ५२० भन्दा धेरै सवारी चालक कारबाहीमा परेका छन् ।

  • १४ जेष्ठ २०८०, आईतवार ०९:५७ प्रकाशित