महानगर प्रहरी र कर्मचारी माथि आक्रमणको प्रयास, ७ जना प्रहरी नियन्त्रणमा

केन्द्रभाग मिडिया

पोखरा ।

फेवातालको सिरान तर्फ पामेफाँटमा दलदले जमिन पुर्नेक्रम बढेसंगै त्यसलाई रोक्न गएको पोखरा महानगरको प्रहरी र कर्मचारी माथि आक्रमण प्रयास भएको छ । शनिबार दिउँसो महानगर प्रहरीले ग १ ख ८६८७ नम्बरको टिप्पर नियन्त्रणमा लिएर ल्याउने क्रममा उच्छृंखल समूहले आक्रमण प्रयास गरेको र आउन नदिएपछि आफूहरुले उद्वार गरेको इलाका प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक वेद जोशीले जानकारी दिए ।

उनका अनुसार टिप्पर चालकसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘महानगर प्रहरीले माटो बोकेको टिप्पर नियन्त्रणमा लिएर ल्याउने क्रममा केही उच्छृंखल र अराजक समूहले अगाडि बढ्न नदिएर रोकेर राखेको रहेछ । हामीले टिप्पर, टिप्पर र टिप्पर चालकसहित ७ जनालाई नियन्त्रणमा लिएका हौं,’ उनले भने ।

पोखरा महानगरका नगर प्रहरी प्रमुख पुरुषोतम थापाले आफूसहित ४ प्रहरी र चार जना कर्मचारीलाई टिप्पर नियन्त्रणमा लिएर आउने क्रममा आधा घण्टाभन्दा बढी समय नियन्त्रणमा लिएर ज्यान लिने धम्कि दिँदै आक्रमणको प्रयास गरेको जानकारी दिए । ‘अबैध रुपमा टिप्पर चलाएको सूचना पाएपछि हामी नियन्त्रणका लागि पुगेका हौं ।

नियन्त्रणकै क्रममा पनि लफडा भयो । त्यसपछि बैदामको डिएसपी साबसंग सहयोग माग्यौं । उहाँ पुगेपछि चावि र टिप्पर नियन्त्रणमा लिएर फर्कने क्रममा हामीलाई १५/२० जना अराजक समूहले अपशब्द प्रयोग गर्ने र ज्यान मार्ने धम्कि दिँदै आक्रमणको प्रयास गर्यो । फेरी प्रहरीले हामीलाई रेस्क्यु गरेको हो’ उनले भने ।

फेवा तालको सिमसार क्षेत्र रहेको पामे फाँटमा डाँडा काटेर र सडक खन्दा निस्केको लगायतको माटो लगे पुर्ने क्रम तिब्र छ । यस अगाडि पनि महानगर प्रहरीले विभिन्न समयमा टिप्पर र डोजर समेत नियन्त्रणमा लिनेगरेको भएपनि दलदले जमिन पुर्ने क्रम रोकिएको छैन । सिमसार क्षेत्र पुर्न नरोकेको भन्दै महानगरको आलोचना भइरहेको छ ।

  • १३ जेष्ठ २०८०, शनिबार २०:२८ प्रकाशित