पोखरा ।
पोखराको हङकङ बजारका व्यवसायीले पोखरामा विहिबार प्रर्दशन गरेका छन् । वर्षाको बीच उनीहरुले पोखरा महानगरपालिका अगाडि प्रर्दशन गरेका हुन् । पोखरामा फुटपाथमा व्यवासाय गर्नेहरुलाई दीर्घकालीन व्यवस्थापन गर्न कृषि सामग्री कम्पनीको जग्गामा हङकङ बजार बनाइएकोमा त्यहाँ भाडा बढ्ने भएपछि व्यवसायीले त्यसको विरोधमा विभिन्न कार्यक्रम गरिरहेका छन् ।
त्यसैक्रममा उनीहरुले पोखरा महानगर अगाडि भारी वर्षाका बीचमा पनि छाता ओडेर प्रदर्शन गरेर त्यहाँबाट नारावाजी गर्दै बजार परिक्रमा गरेका थिए । सहभागीहरुले विगतको सम्झौता कार्यान्वयन गर । विचौलिया पोस्न पाइदैन । व्यवसायीलाई गरिखान दे लगायतका नारा लगाएका थिए । हङकङ बजार खुलेको १० वर्षपछि गत २१ चैतमा कृषि सामग्री कम्पनी लिमिटेडले जग्गाको भाडा करिब ४ सय प्रतिशत बढाउने गरी टेन्डर आह्वान भएपछि व्यवासायीहरु यसरी आन्दोलित भएका हुन् ।
उक्त जग्गा भाडामा लिएका व्यवसायी मिलनप्रसाद तिवारीले पहिले यो जग्गाको भाडा मासिक २ लाख २४ हजार रुपैयाँ तिर्दै आएका थिए । कम्पनीसँग उनको सम्झौता सकिएपछि २१ चैतमा गोरखापत्रमा कृषि सामग्रीले जग्गा भाडा मासिक न्यूनतम १२ लाख ५० हजार रुपैयाँ राखेर बोलपत्र आह्वान गरेपछि व्यवसायी आन्दोलित बनेका हुन् । अहिले व्यवसायी सटरको क्षेत्रफल अनुसार २ देखि ५ हजारसम्म भाडा तिर्दै आएका छन् ।