पोखरा ।
यातायात व्यवस्था कार्यालय लाइसेन्स कास्कीका कर्मचारीले कार्यालयमा विहान ८ बजेदेखि नै सेवा दिन थालेका छन् । कार्यालय प्रमुखमा जीतेन्द्रजंग केसी सरुवा भएर आएसंगै कार्यालयको सेवा सुधार गर्न भन्दै विहान ८ बजेदेखि नै सेवा दिन थालिएको एक कर्मचारीले बताए ।
ती कर्मचारीका अनुसार लामो समय प्रमुख विहिन बनेको कार्यालयमा केसी आएपछि सुधारको सुरुवात भएको हो । तत्कालिन कार्यालय प्रमुख प्रेम सुवेदीले ट्रायल लगायतका केही सुधारका काम थालेका थिए । उनी गण्डकी प्रदेश सभामा सरुवा भएपछि कार्यालय लामो समय प्रमुख विहिन थियो ।
अहिले केसी कार्यालय प्रमुख भएर आएपछि कार्यालयमा विचौलियाले समेत प्रवेश पाएका छैनन् । सेवाग्राही मालेपाटनकी गिता पौडेलले पहिले लामो लाइन छिचोल्न नै मुस्किल पर्ने गरेकोमा अहिले लाइन बस्न नपरेको सुनाइन् । ‘अघिल्लो पटक आउँदा लामो लाइन हुन्थ्यो । यसपाली लाइन बस्न परेन । सेवामा सुधार भएको पाएँ’ उनले भनिन् ।
कार्यालय प्रमुख केसीले आफूले अहिले आर्थिक लगानी नगरी गर्न सकिने सुधारमा लागेको जानकारी दिए । विहान ८ बजेदेखि नै सेवा दिन सुरु गरिएको भन्दै उनले यसको उपयोग गर्न सेवग्राहीलाई आग्रह गरेका छन् । उनका अनुसार गत आइतबार देखि विहान ८ बजेबाट सेवा दिन सुरु गरिएको हो । सुधार देखिन समय लाग्ने भन्दै हाल विना कुनै लगानी र विना कुनै खर्चमा सुधारको काम थालेको बताए । विहानको समयमा बायोमेट्रिक, त्यसको राजश्व लिने र मेडिकल गराउने काम सुरु गरिएको उनले जानकारी दिए ।
यसको प्रभाव हेरेर केही समयमा अन्य सेवा समेत थप्ने तयारी रहेको उनको भनाई छ । कार्यालयमा सुधार गर्नुपर्ने पक्ष धेरै नै रहेको भन्दै उनले प्रयोग हुने सफ्टवयर सुस्त रहेको र कर्मचारीको लागी असुरक्षित रहँदा त्रासमा काम गर्नु परेको सुनाए । ‘यहाँ जति काम गरेको हो, त्यति कामको मात्र कर्मचारी जिम्मेवार बन्ने अवस्था छैन ।’ उनले भने, ‘अहिले बिना लगानी र बिना खर्चबाट सुधारको काम थालेका छौं । यो सफल भए भोलिका दिनमा अरु सेवा पनि विहानबाट नै दिन्छौं । सुधारको योजना मन्त्रालयमा पेश गरेको छु’ उनले भने ।
कार्यालय प्रमुख केसीले यातायात व्यवस्था कार्यालय लाइसेन्स कास्कीले कुनैपनि फेसबुक ग्रुप नचलाएको र कार्यालयका नाममा अनधिकृत रुपमा चलाइएका फेसबुक ग्रुपको भर नपर्न समेत सबै सेवाग्राहीलाई आग्रह गरेका छन् । ‘कार्यालयले कुनैपनि फेसबुक ग्रुप चलाएको छैन । हाम्रो कार्यालयको नाममा धेरै नै फेसबुक ग्रुप चलाएको पाइयो । ति सबै अनधिकृत हुन् । ति ग्रुपको भरमा नपर्न समेत सेवाग्राहीलाई आग्रह गर्छु’ उनले भने ।













