शरणार्थी प्रकरण : साढे २७ करोड बिगो कायम हुने प्रहरीको निष्कर्ष

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नक्कली शरणार्थी प्रकरणमा जोडिएका ३३ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय दिएको नेपाल प्रहरीले यो मुद्दामा साढे २७ करोड बराबरको बिगो कायम हुने निष्कर्ष निकालेको छ । १ सय १३ जनाले दिएको २३ वटा जाहेरीको आधारमा यो रकम बराबरको बिगो कायम हुने प्रहरीको अनुसन्धान प्रतिवेदनमा छ ।

यो अनुसन्धानका क्रममा तत्कालका लागि साढे २७ करोड बराबरको लेनदेनको हिसाबकिताब देखिएको हो । यो प्रकरणमा जोडिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित ३३ जनालाई राज्यविरुद्धको, ठगी र संगठित अपराध गरी तीन खालका मुद्दा चलाउनुपर्ने राय प्रहरीको छ ।

प्रहरीले सोमबार सरकारी वकिलको कार्यलायलाई प्रतिवेदन बुझाएको हो । ३३ मध्ये १६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने बाँकी १७ जना अहिले फरार छन् ।

  • ८ जेष्ठ २०८०, सोमबार १६:४५ प्रकाशित