काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्ना चालु खर्चहरुमा कटौती थालेको छ । प्राधिकरणले प्रधान कार्यालय परिसरभित्र रहेका सबै कार्यालयहरु, निर्देशनालय र विभागमा विविध शीर्षकहरुमा हुने खर्च कटौती गर्न विभिन्न निर्णयहरु गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत २८ वैशाखमा परिपत्र जारी गर्दै मुलुकको अर्थतन्त्रमा आएको शिथिलतासँगै प्राधिकरणमा समेत विविध शीर्षकहरुमा हुने खर्च कटौती गर्दै नियन्त्रण गर्नुपर्ने देखिएको बताएका छन् । परिपत्रअनुसार प्राधिकरणले कार्यकारी निर्देशकको स्वीकृतिबेगर सार्वजनिक बिदाको दिन गाडी प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।
प्राधिकरण परिसरभित्र रहेका कार्यालयहरुमा काम गर्ने कर्मचारीलाई २५ प्रतिशत अतिरिक्त भत्ताको व्यवस्था छ । यसका लागि महिनामा २१ दिनको हाजिर अनिवार्य गरिएको छ । माथिल्लै तहका कर्मचारीहरु २१ दिनको हाजिर नपुग्ने अवस्थामा भत्ता खानाकै लागि काज हाजिर लिने गरेको प्रशासन निर्देशनालयका एक अधिकारीले बताए ।














