पोखरा ।
स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर १३ का किसान गणेश आर्याल अहिले आफ्नो भिरालो पाखो फडानी गरेर सुन्तलाको खेति विस्तार गर्न खाल्डा खनिरहेका छन् । विगतमा ७ रोपनी पाखोबारीमा सुन्तला खेती गरेका उनले यसलाई विस्तार गरेर १६ रोपनी पुर्याउने बताउँछन् । त्यसका लागि उनले यसपाली ९ रोपनी जमिनमा रहेको रुख र झाडी फडानी गरेर जमिन तयार पारेका छन् ।
सुन्तला खेती विस्तारमा लागेका उनलाई सुन्तालाले राम्रो आम्दानी दिनेमा दुविधा छैन । उनी जस्तै अहिले उक्त क्षेत्रका किसान आफ्नो पाखोबारी फडानी गरेर सुन्ताला खेती विस्तारमा लागेका छन् । सुन्तालाले राम्रो आम्दानी दिन थालेपछि खेति विस्तारमा लागेका किसानलाई अहिले बाँदरको चिन्ताले पिरोलेको छ ।
सुन्तलाबाट बार्षिक झण्डै ५ लाखको हाराहारीमा आम्दानी गर्ने गरेका गणेश अर्याल बाँदरको बढ्दो चहलपहलले सशंकित देखिन्छन् । ‘पाखोको बुट्यानले आम्दानी दिँदैन । सुन्तला रोप्यो भने व्यापारी आएर राम्रै मूल्य दिएर लैजान्छन् । बजारको कुनै समस्या छैन ।’ उनले भने, ‘हामी सबैलाई एउटै चिन्ता भनेको बाँदरको हो । विगतमा बाँदरले सुन्तला खाँदैनथ्यो । अहिले टिप्दै फाल्ने गरेको पाइयो । बस्तीबाट बाँदर धपाउन नै मुस्किल देखिएको छ ।’
गणेश मात्र होइन उक्त ठाउँका सबैजसो किसानलाई बाँदरको चिन्ता छ । पहिले बारीमा लगाएको बालीमा मात्र बाँदर लाग्ने भएपनि अहिले खेतमै आएर दुख दिने गरेको स्थानीय तेजनारायण अर्याल बताउँछन् ।
किसानले खेतमा लगाएको मकै, गहुँ लगायतका बालीमा पस्न थालेपछि जोगाउनै मुस्किल रहेको उनले जानकारी दिए । ‘पहिले पहिले बारी र पाखोमा मात्र बाँदरले दुःख दिन्थ्यो, अहिले त खेतमै आएर दुख दिन थालेको छ । कुर्दा कुर्दैपनि बाँदरबाट बाली जोगाउन धेरै मुस्किल छ ।’ उनले भने, ‘पहिले सुन्तला खाँदैनथ्यो । अहिले सुन्तला पनि टोकेर फाल्न थालेको छ । पछिल्लो सिजनमा केही किसानले क्षति नै बेहोर्नु पर्यो ।’
पुतली बजार १३ कै ७६ वार्षी किसान दिवाकर सुवेदीले आफूले यस अगाडि बाँदरले सुन्तला खेती नस्ट गरेको नदेखेको तर अहिले आफ्नै बारीको सुन्तला नस्ट गरेको बताए । ‘पहिले बाँदरले सुन्ताला खाएको मलाई याद छैन । तर, अहिले चाख्ने र फाल्ने गरेर दुख दिन थालेको छ । मेरै बारीको सुन्तला पछिल्लो सिजनमा धेरै नै नस्ट गर्यो’ उनले भने ।
कृषि ज्ञान केन्द्र स्याङ्जाका अनुसार स्याङ्जामा दुई हजार हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा छ । पछिल्लो सिजनमा स्याङ्जाका किसानले समग्रमा एक अर्व रुपैयाँ भन्दा धेरै कमाएका छन् ।